कैलाली। त्रिभुवन विश्वविद्यालय (त्रिवि) अन्तर्गतका सामुदायिक तथा आङ्गिक क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको मतदान भइरहेको छ । सुदूरपश्चिम प्रदेशका नौ जिल्लामा रहेका ३६ क्याम्पसमा तोकिएकै समयमा बिहान ८ बजेदेखि मतदान सुरु भएको हो।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले दिएको जानकारी अनुसार कैलालीका १०, कञ्चनपुरमा ६, डोटीमा ३, अछाममा २, बाजुरा एक, डडेल्धुरा १ बझाङ ९ र दार्चुलाका ४ क्याम्पसमा शान्तिपूर्ण वातावरणमा उत्साहजनक उपस्थितिमा मतदान भइरहेको हो। कञ्चनपुरको दानेश्वरहरी बहुमुखी क्याम्पस, बझाङको त्रिवेणी आदर्श बहुमुखी क्याम्पस र दार्चुलाको गोकुलेश्वर बहुमुखी क्याम्पसमा यस अघि नै निर्विरोध निर्वाचन भएको थियो।
सुदूरपश्चिम प्रदेशमा त्रिभुवन विश्वविद्यालय र सुदूरपश्चिम विश्वविद्यालय अन्तर्गतका २३ क्याम्पसमा स्ववियु निर्वाचन स्थगित भएको छ। चुनाव स्थगित हुनेमा अछाम ५ , कैलाली २, बैतडी २, कञ्चनपुर ९, डोटी १, दार्चुला १, बझाङ १ र बाजुरा २ क्याम्पस रहेका छन्। त्रिभुवन विश्वविद्यालयले सार्वजनिक गरेको स्ववियु निर्वाचनको कार्यतालिका अनुसार चैत्र ५ गते बिहान ८ बजेदेखि दिउँसो ४ बजेसम्म मतदान समय रहेको छ। सुदूरपश्चिममा सबैभन्दा बढी विद्यार्थी सङ्ख्या रहेको घोडाघोडी बहुमुखी क्याम्पसमा पाँचवटा सङ्घ सङ्गठन र दुई स्वतन्त्र उम्मेदवार छन्।
घोडघोडी बहुमुखी क्याम्पस स्ववियू निर्वाचन संयोजक चेतराज बिनाडीले बिहान ८ बजेदेखि नै शान्तिपूर्ण वातावरणमा मतदान भइरहेको जानकारी दिए। उक्त क्याम्पसमा ५ वटा बुथबाट दुई हजार २४७ जना मतदाताले मतदान गरिरहेका छन्। उक्त क्याम्पसमा १९ सदस्य स्ववियु समितिका लागि प्रत्यक्ष र समानुपातिकतर्फको मतदान कार्य भइरहेको छ। त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक तथा त्रिवि केन्द्रीय स्ववियु निर्वाचन अनुगमन तथा समन्वय समितिका सदस्य सचिव पशुपति अधिकारीले ६१ आङ्गिक क्याम्पस र ५०० बढी सामुदायिक क्याम्पसमा उत्साहपूर्ण उपस्थितिमा मतदान भइरहेको जानकारी दिए ।गोरखापत्रबाट ,धनगढीको ऐश्वर्य बहुमुखी क्याम्पसमा स्वबियुको निर्वाचन भिडियो तल हेर्नुहोस्
https://www.facebook.com/supamedia01/videos/232507009159339


