धनगढी। धनगढीको एसपीए कलेजमा बीआईएम अध्ययनरत् तीन विद्यार्थीहरु सर्वोत्कृष्ट नतिजासहित त्रिभुवन विश्वविद्यालयको दोस्रो र तेस्रो टपर भएका छन् ।त्रिभुवन विश्वविद्यालय(टीयू)ले यसैवर्ष श्रावणमा लिएको बीआईएम (ब्याचलर अफ इन्फरमेसन म्यानेजमेन्ट) पहिलो सेमिष्टरमा एसपीएका हेमबहादुर जोरा टीयू दोस्रो र दीपेन्द्र जोशी तथा सौरभ प्रताप बम मल्ल तेस्रो टपर भएका हुन् ।
हेमले ३.९१ जिपिए तथा दीपेन्द्र र सौरभले ३.९० जिपिएसहित टीयू टप भएका हुन् ।कलेजका बीआईएम कार्यक्रम निर्देशक इन्जिनियर भीमबहादुर पुनले विश्वविद्यालयको प्रतिस्पर्धी परीक्षामा एसपीएका विद्यार्थीले टप गर्नु गर्विलो कुरो रहेको बताए ।‘टीयूको प्रतिस्पर्धात्मक परीक्षामा देशभरिका विद्यार्थीलाई उछिन्दै हाम्रा विद्यार्थी अब्बल सावित भएका छन् । उनीहरुलाई बधाई दिन चाहान्छु,’ कार्यक्रम निर्देशक पुनले भने, ‘यस नतिजाले शैक्षिक क्षेत्रमा एसपीए पुनः एकपटक अब्बल रहेको प्रमाणित गरेको छ । विद्यार्थीको अविरल मिहिनेत, अध्यापक तथा कलेजको साथ सहयोगले यो सम्भव भएको हो ।’
टीयू दोस्रो टपर भएका विद्यार्थी हेमले निरन्तरको लगाव र अध्यापक तथा परिवारको साथ सहयोगले सफलता मिलेको बताए ।‘पढेरमात्रै नभएर व्यवहारिक रुपमा बुझेर पढेकाले यो नतिजा आएको जस्तो छ,’ हेमले भने, ‘मैले पढाईलाई बोझ कहिले मानिन । मन लगाएर पढे । कलेजमा पनि पढेका कुराहरु प्राक्टिकल्ली हुने गरेको छ । यसले राम्रो गर्न सहयोग गरेको हो ।’अघिल्लो हप्तामात्रै आएको बीएचएम पहिलो सेमिस्टरमा पनि एसपीएका दुई विद्यार्थी टीयूको दोस्रो र तेस्रो टपर बनेका थिए ।
बीएचएमका देउमती चौधरी र एनी श्रेष्ठले पनि विश्वविद्यालय टप गरेका हुन् ।गुणस्तरीय शिक्षाका लागि एसपीए पर्यायवाची शब्द जस्तै भइसकेकाले लगातार उत्कृष्ट नतिजा आइरहेको क्याम्पस प्रमुख योगराज उपाध्यायले बताए । ‘एक हप्ताका दौरान आएका त्रिविका दुई महत्वपूर्ण कार्यक्रममा हाम्रा विद्यार्थी टपर बन्दा हामी अन्त्यन्तै हर्षित छौं,’ क्याम्पस प्रमुख उपाध्यायले भने, ‘विद्यार्थीहरुको लगाव र हाम्रा प्राध्यापकहरुले उहाँहरुलाई अब्बल बनाउँन दिनरात गरेको मिहिनतको फल यो हो । टपरसहित उत्तीर्ण हुनुभएका सम्पूर्ण विद्यार्थीलाई हार्दिक बधाई दिन चाहान्छु ।’