कञ्चनपुर। कञ्चनपुरमा स्वतन्त्र विद्यार्थी यूनियन स्ववियुको निर्वाचनमा आधा भन्दा कम क्याम्पसमा मात्रै चुनाव हुने भएको छ। कञ्चनपुरका १६ क्याम्पसमा विभिन्न विद्यार्थी संघ संगठनहरुले उम्मेदवारी दर्ता गराएपनि कुल क्याम्पसको आधा भन्दा कमै क्याम्पसमा मात्रै चुनाव हुने भएको हो।



सुदूरपश्चिम विश्वविद्यालय सहितका १६ क्याम्पसमा विद्यार्थीले संगठन र उम्मेदवारी दर्ता गराएका छन् । एक क्याम्पसमा सहमतीय आधारमा स्ववियु पदाधिकारी टुङग्याईएको छ । ६ क्याम्पसमा चुनाव हुँदैछ । भने बाँकी क्याम्पसमा तालाबन्दीले चुनाव अनिश्चित बनेको छ । रौलेश्वर जनता आदर्श बहुमुखी क्याम्पस बेलडाँडी, रामपुर बहुमुखी क्याम्पस कलकत्ता, महाकाली बहुमुखी क्याम्पस बेलौरी, जनता बहुमुखी क्याम्पस पूनर्वास, कञ्चन बहुमुखी क्याम्पस गुलरिया र कृष्ण बैजनाथ बहुमुखी क्याम्पस झलारीमा मात्रै चुनाव हुने देखिएको छ ।
कृष्ण बैजनाथ बहुमुखी क्याम्पसमा अनेरास्ववियु र अखिल क्रान्तिकारीबीच चुनावी तालमेल भएको छ । नेविसंघ एक्लै चुनावी मैदानमा होमिएको छ । कञ्चन बहुमुखी क्याम्पसमा काँग्रेस, माओवादी निकट संयुक्त प्यानलबाट नेविसंघका दिनेश भट्टले उम्मेदवारी दिएका छन् भने एमाले निकट विद्यार्थी संगठनबाट देव बहादुर साउद एक्लै चुनावी मैदानमा उत्रिएका छन् । जनता बहुमुखी क्याम्पस पुनर्वासमा एमाले, काँग्रेस निकट विद्यार्थी संगठनबाट अनेरास्ववियुकी सकुन्तला मल्ल र माओवादी निकट अखिल क्रान्तिकारीबाट मनोज साउद एक्लै चुनावी मैदानमा छन् ।
महाकाली बेलौरी क्याम्पसमा नेविसंघबाट निरज भण्डारी, अनेरास्ववियुबाट हिरामोती चौधरी, अखिल क्रान्तिकारीबाट सपना चौधरी र नागरिक उन्मुक्ति निकट संगठनबाट उर्मिला चौधरीको प्यानल चुनावी मैदानमा होमिएको छ । उक्त क्याम्पसमा समाजवादी र माओवादी निकट विद्यार्थीबीच चुनावी तालमेल भएको छ ।रामपुर बहुमुखी क्याम्पसमा नेविसंघबाट धनीराम चौधरी, अनेरास्ववियुबाट विमला रेग्मी र अखिल क्रान्तिकारीबाट सरस्वती तिरुवाको प्यानल चुनावी मैदानमा उत्रिएको छ ।रौलेश्वर आर्दश बहुमुखी क्याम्पस बेलडाँडीमा नेविसंघ र अखिल क्रान्तिकारीबीच चुनावी तालमेल भएको छ ।
क्रान्तिकारीको सर्मथनमा नेवि संघका गजेन्द्र उपाध्याय र अनेरास्ववियुका दिलेन्द्र प्रसाद बडूबीच प्रतिस्पर्धा हुने भएको छ ।यसअघि दानेश्वर बहुमुखी क्याम्पसमामात्रै नेविसंघ, अनेरास्ववियु, अखिल क्रान्तिकारी, नेकपा समाजवादी र राप्रपा निकट विद्यार्थीबीच भागबण्डा भएर नेविसंघकी बिमला जोशी नेतृत्वमा स्ववियु समिति निर्विरोध निर्वाचित भएका छन् ।सुदूरपश्चिम विश्वविद्यालयको केन्द्रीय क्याम्पस सहित भानु, बारिधी, कञ्चन, बालजागृती, जनज्योती, सिद्धनाथ विज्ञान क्याम्पसमा विभिन्न विद्यार्थी संघ संगठनहरुले तालाबन्दी गरेका कारण चुनाव अनिश्चित बनेको छ ।

कृष्ण पाण्डे समुहको नेविसंघ, अनेरास्ववियू, अखिल क्रान्तिकारी, नेकपा समाजवादी, बहुमत, विप्लव, राप्रपा निकट विद्यार्थी संघ संगठनहरुले छुट्टाछुट्टै क्याम्पसमा तालाबन्दी गरेका छन् ।त्रिविको आंगिक क्याम्पस सिद्धनाथ विज्ञान क्याम्पसमा पनि ताला लागेको छ। यहाँ कृष्ण पाण्डे समुहको नेविसंघ, नेकपा विप्लवसहितका चार विद्यार्थी संगठनले तालाबन्दी गरेका छन् ।त्रिविकै सम्बन्धन प्राप्त उदय सरस्वती क्याम्पस वाणिमा विद्यार्थी संगठनबीच सहमती हुन नसकेपछि चुनाव अनिश्चित बनेको छ। अनेरास्ववियु कञ्चनपुरका संयोजक प्रज्वल कुँवरले विद्यार्थी संगठनबीच सहमती हुन नसकेपछि चुनाव अनिश्चित बनेको जानकारी दिए । तालाबन्दीका कारण उक्त क्याम्पसमा चुनाव नहुने देखिएको छ। तालाबन्दी गरेका विद्यार्थी संगठनले सम्बन्धीत क्याम्पस प्रशासनबाट चुनावका लागि वातावरण तयार नगरेपछि धाँधली हुने देखेर बाध्य भएर तालाबन्दी गरिएको बताएका छन् । चुनावका लागि क्याम्पस प्रशासनले बदमासी गरेपछि बाध्य भएर तालाबन्दी गर्नुपरेको नेविसंघ कञ्चनपुरका नेता कृष्ण पाण्डेले बताए ।



