काठमाडौँ। लगानी बोर्डको कार्यालयले भारतीय कम्पनी एनएचपीसी लिमिटेडलाई ४५० मेगावाटको सेती नदी–६ जलविद्युत आयोजनाको अध्ययन अनुमतिपत्र दिएको छ। बोर्डले डोटी र अछाम जिल्लामा निर्माण हुने आयोजनाको अनुमतिपत्र जारी गरेको हो ।



बिहीबार बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशिल भट्टले एनएचपीसीका उपमहानिर्देशक अशोककुमार जोशीलाई अनुमतिपत्र हस्तान्तरण गरेका हुन्। बोर्डले ३ महिनाभित्र आयोजना अध्ययन गरी प्रारम्भिक प्रतिवेदन र २१ महिनाभित्र विस्तृत आयोजनाको प्रतिवेदन (डीपीआर) बुझाउनुपर्ने गरी अनुमति प्रदान गरेको हो। कम्पनीले सेती नदी–६ सँगै ७५० मेगावाटको पश्चिम सेती पनि अघि बढाएको छ।
अहिले कम्पनीले पश्चिम सेतीको प्रारम्भिक प्रतिवेदन बुझाएर विस्तृत अध्ययनको काम गरिरहेको छ। २०७९ जेठ २३ मा बसेको लगानी बोर्डको ५१ औं बैठकले ७५० मेगावाट क्षमताको पश्चिम सेती र ४५० मेगावाट उत्पादन क्षमताको सेती नदी–६ आयोजनाको विकास तथा लगानीको खाका तयार पार्ने जिम्मा एनएचपीसी लिमिटेडलाई दिने निर्णय गरेको थियो। साउन २३ मा बसेको लगानी बोर्डको ५२ औं बैठकले सर्वेक्षण लाइसेन्स जारी गर्ने समझदारीपत्र अनुमोदन गरेको थियो ।
यी दुई आयोजना एउटै नदी बेसिनुमा ५० किलोमिटर दूरीमा छन् ।माथिल्लो तटीय आयोजनाका रूपमा पश्चिम सेती र तल्लो तटीय आयोजनाका रूपमा सेती नदी–६ सँगसँगै निर्माण भए कुल १२ सय मेगावाट क्षमता बराबरको विद्युत् उत्पादन हुनेछ । लगानी बोर्ड र एनएचपीसीबीच गत भदौ २ गते निर्माण सम्झौता भएको थियो। एनएचपीसीले दुवै आयोजनाबाट उत्पादित बिजुली बेच्न अर्को सरकारी पावर ट्रेड कर्पोरेसन इन्डिया लिमिटेड ९पीटीसी० सँग विद्युत् खरिद बिक्रीका लागि सम्झौता गरिसकेको छ ।



