धनगढी। धनगढी उपमहानगरपालिकामा फोहोरमैला व्यवस्थापन केन्द्र निर्माणका लागी सम्झौता गरिएको छ। धनगढीमा दुई वर्षभित्र फोहोरमैलाको दिर्घकालिन समस्या समाधानका लागि चिनिया कम्पनीसँग निर्माण सम्झौता गरिएको बताइएको छ ।
धनगढी वडा नम्बर ७ मा आधुनिक फोहोरमैला व्यवस्थापन केन्द्र निर्माण गर्न ठेक्का सम्झौता भएको हो। क्षेत्रीय सहरी विकास आयोजनाले एसियाली विकास बैंक (एडीबी)को सहुलियत ऋण सहयोगमा धनगढीमा एकीकृत फोहोरमैला व्यवस्थापन केन्द्र निर्माणका लागि चीनिया कम्पनी सिचुवान प्रोभिन्स जियोलोजिकल इन्जिनियरिङसँग सम्झौता गरेको छ। ९६ करोड ८२ लाख ३९ हजार ६ सय ४६ रुपैयाँ ६३ पैसाको लागतमा धनगढीमा दुई वर्षभित्रै एकीकृत फोहोरमैला व्यवस्थापन केन्द्र निर्माण हुनेछ।
गत पुस १४ गते दुई वर्षमा फोहोरमैला व्यवस्थापन केन्द्र निर्माण गर्न सम्झौता भएको छ। रुख कटानका लागि वातावरणीय प्रभाव मुल्याँकन (इआए) समेत स्वीकृत भइसकेको छ। फोहोरमैला व्यवस्थापन केन्द्र निर्माण स्थलमा दुई हजार रुख कटानी हुने जनाइएको छ। गत फागुन १५ गते इआए स्वीकृत भएको क्षेत्रीय सहरी विकास आयोजना कार्यालय धनगढीले बताएको छ।
फोहोरमैला व्यवस्थापन केन्द्र निर्माणपछि धनगढीको फोहोर व्यवस्थापनमा हुने र रोजगारीको समेत सृजना हुने बताइएको छ । धनगढी उपमहानगरपालिकामा अहिले दैनिक १२ टन जती फोहर संकलन हुँदै आएको छ। तर, उपमहानगरपालिकामा हालसम्म फोहोरमैला व्यवस्थापनका लागि ल्याण्डफिल साइट नहुँदा संकलित फोहोरमैला नदीखोलामा फाल्ने गरेको छ। धनगढीमा रहेका मोहना नदी तथा सुकुटी नाला, कैलाली नालालगायतका खोलानाला किनारामा हाल संकलित फोहोरमैला फाल्ने गरिएको छ।


