काठमाडौं। उपराष्ट्रपतिमा रामसहाय प्रसाद यादव निर्वाचित भएका छन् । शुक्रबार भएको निर्वाचनमा जनता समाजवादी पार्टी (जसपा)का उम्मेदवार यादव ३० हजार ३२८ मतभारका साथ उपराष्ट्रपति निर्वाचित भएका हुन् ।



कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी लगायतका दलको समर्थन पाएका उनलाई ३२९ प्रदेशसभा सदस्य र १८४ संघीय सांसदले मत दिएका थिए । एमाले उम्मेदवार अष्टलक्ष्मी शाक्यलाई १६९ प्रदेशसभा सदस्य र १०४ संघीय सांसदले मत दिएका छन् । जनमत पार्टीकी उम्मेदवार ममता झालाई १५ प्रदेशसभा सदस्य र २३ संघीय सांसदले मत दिए ।
उम्मेदवारी फिर्ताको घोषणा गरेकी प्रमिला यादवले एक प्रदेशसभा सदस्यको मत पाएका छन् ।उपराष्ट्रपति निर्वाचनमा संघका ३३३ संघीय सांसद र ५५० प्रदेशसभा सदस्य मतदाता छन् । र, संघीय सांसदको मतभार ७९ र प्रदेशसभा सदस्यको मतभार ४८ छ । उपराष्ट्रपतिमा निर्वाचित यादव बारा=२ बाट निर्वाचित प्रतिनिधिसभा सदस्यसमेत हुन् । उनी जसपाका संसदीय दलका नेतासमेत हुन् ।
विक्रम संवत २०२७ सालमा बाराको कलैयामा जन्मिएका यादवले बीएस्सी, बीएडसम्मको अध्ययन गरेका छन् । शिक्षण पेसा त्यागेर उनले २०४६ सालपछि नेपाल सद्भावना पार्टीबाट राजनीतिक यात्रा सुरु गरेका थिए । त्यसपछि उनी मधेसी जनअधिकार फोरमको संस्थापक रही त्यसको सुरूवातदेखि महासचिवसमेत बने । २०६४ मा बारा-२ बाट संविधानसभा सदस्य निर्वाचित भएका यादव २०७४ र २०७९ को निर्वाचनमा पनि सोही क्षेत्रबाट निर्वाचित भएका हुन् । तीनवटै मधेस आन्दोलनमा सक्रिय सहभागी उनले वन तथा वातावरणमन्त्रीको जिम्मेवारीसमेत सम्हालिसकेका छन् ।



