धनगढी। सुदुरपश्चिममा युरोपियन प्रतिनिधि मण्डलका राजदूत र मुख्यमन्त्री कमल बहादुर शाहबीच भेटवार्ता भएको छ। युरोपियन युनियनका राजदूत नोना डिप्रेज सहित युरोपियन युनियनका सदस्य राष्ट्रहरूका चार जना राजदूतहरूको टोलीले मुख्यमन्त्री शाहसँग बिहीबार भेटवार्ता गरेका छन्।
सुदूरपश्चिमका तीन जिल्लाको भ्रमण सकेर धनगढी फर्केका युरोपियन युनियनका राजदूत र उसका तीन सदस्य राष्ट्रहरू जर्मन, फ्रान्स र फिनल्याण्डका राजदूतहरूले भेटघाटका क्रममा सुदूरपश्चिमको विकास लगायतको बारेमा छलफल भएको हो। नेपालस्थित युरोपियन युनियनका राजदूत नोना डिप्रज, जर्मनीका राजदूत थोमस प्रिन्ज, फ्रान्सका राजदूत गिलेर बुरबाओ र फिनल्यान्डका राजदूत रिना रिक्का हेइक्काको टोली परियोजनाको निरीक्षणमा सुदुरपश्चिम पुगेका थिए।
युरोपियन युनियनका राजदूत सहितको उक्त टोलीले सुदूरपश्चिम भ्रमणको पहिलो दिन सोमवार सेती प्रादेशिक अस्पतालको अवलोकन र अस्पतालको सेवा सुबिधाका विषयमा मेडिकल सुपरीटेण्डट डा.हेमराज पाण्डेय र अस्पतालका अध्यक्ष निर्मल शाहसंग छलफल गरेको थियो । अस्पतालले फोहोरमैला व्यवस्थापन कसरी गरिरहेको छ भनेर टोलीले निरीक्षण गरेको छ। त्यस्तै, अस्पतालले महिला र बालबालिकालाई सेवाको बारेमा पनि राजदूतहरूको टोलीले अस्पतालका अधिकारीहरूसँग छलफल गरेको छ।
सोही दिन धनगढी उपमहानगरपालिकाकी उपप्रमुख कन्दकला रानासंग नगरको विकासमा गर्न सकिने साझेदारी र सहकार्यका विषयमा छलफल गरेको थियो ।मंगलवार डडेल्धुरा अस्पताल अवलोकन गरेको उक्त टोलीले अस्पतालको स्तरोन्नती र गुणस्तरीय सेवाका लागि आवश्यक सेवा र बजेटका सम्बन्धमा अस्पताल व्यवस्थापन तथा प्रशासनसंग छलफल गरेको थियो । सोही क्रममा अमरगढी नगरपालिकाका प्रमुख, उपप्रमुखहरुसंग समेत पालिकामा सञ्चालित पोषण लगायतका कार्यक्रमका बारेमा जानकारी लिएको थियो। मंगलवार डडेल्धुराको भ्रमणपछि डोटी पुगेको उक्त टोलीले दिपायल सिलगढी नगरपालिकाका प्रमुख, उपप्रमुखहरुसंग पालिकामा युरोपियन युनियनको सहयोग तथा साझेदारीमा सञ्चालित कार्यक्रममा बारेमा छलफल गरेको थियो।
भ्रमणका क्रममा राजदूतको टोलीले युरोपियन युनियन तथा युनियनका सदस्य राष्ट्रहरूको सहयोग र साझेदारीमा कैलाली, डोटी र डडेल्धुरामा सञ्चालित परियोजनाहरूको अवलोकन गरेको छ। सञ्चालित परियोजनाबारे सम्बन्धित पालिकाका प्रमुखलगायतसँग भेटघाट तथा छलफल गर्ने काम भइरहेको छ।राजदूतहरूको टोलीले डडेल्धुरामा डडेल्धुरा अस्पतालको फोहोरमैला व्यवस्थापन, फिनल्यान्डको सहयोगमा सञ्चालन भइरहेको ग्रामीण जलस्रोत व्यवस्थापन परियोजना तथा मुक्त हलियाको पुनःस्थापना,जीविकोपार्जन कार्यक्रमको निरीक्षण र यसबारे सरोकारवालासँग छलफल समेत गरेको छ।
बुधवार धनगढी फर्किने क्रममा चुरे गाँउपालिकाका प्रतिनिधि तथा स्थानीय बासिन्दाहरुसंग त्यहाँ सञ्चालित परियोजनाहरुका बारेमा जानकारी लिएको थियो । उक्त टोलीले कृषि समूह, कृषकहरुले सञ्चालन गरेको च्याँउ खेती, बाख्रा पालन लगायतका कृषिजन्य कार्यक्रमको अवलोकन गर्नुका साथै कृषकहरुसंग छलफल गरेका थिए । युरोपियन प्रतिनिधि मण्डलका राजदूतलेहरुले बुधबार साँझ पत्रकार सम्मेलनको आयोजना गर्दै सुदूरपश्चिमको शिक्षा, स्वास्थ्य, पोषणका क्षेत्रमा विभिन्न परियोजना मार्फत सहकार्य र साझेदारी गर्दै आएको बताएका छन् ।

