धनगढी। कैलालीको धनगढी विमानस्थल जाने सडकमा स्वागतद्वार बनाउन लाखौँ खर्च भएपनी निर्माण सम्पन्न हुन सकेको छैन् । धनगढी उपमहानगरपालिका–१३ स्थित छ लेन सडक नजिक उक्त स्वागतद्वार निर्माणमा छब्बीस लाखभन्दा बढी रकम खर्च भइसकेको छ।
धनगढी विमानस्थलको नयाँ गुरुयोजनामा अन्यत्रबाटै विमानस्थल जाने मार्ग तय गरिएको छ। तर पनी स्वागतद्वार निर्माण कार्य अन्योल र प्रयोग विहीन हुने अवस्थामा पुगेको हो । धनगढी विमानस्थलको स्तरोन्नति गर्दा विमानस्थल र त्यहाँसम्म जाने मुख्य मार्ग फरक रहने गरी गुरुयोजना तयार पारिएको बताइएको छ। धनगढी उपमहानगरपालिकाका डिभिजनल इन्जिनियर दिजराज भट्टले विमानस्थल स्तरोन्नतिको नयाँ गुरुयोजना बनेपछि हाल कायम रहेको सडक प्रयोग हुने वा नहुने भन्ने विषय नै अनिर्णीत रहेको बताए।
विमानस्थलको गुरुयोजना कार्यान्वयन नहुँदासम्म अब स्वागतद्वारको काम अघि नबढ्ने बताए । विमानस्थलसम्म पुग्ने मुख्य सडक परिवर्तन भएमा स्वागतद्वार बनाउनुको कुनै अर्थ नरहने भएकाले बाँकी काम अघि नबढाइने इन्जिनियर भट्टको भनाइ छ। क्षेत्रीय सहरी विकास परियोजना (आईयूडीपी)को सहयोगमा धनगढी उपमहानगरपालिकाले स्वागतद्वार निर्माण गरेको हो। आर्थिक वर्ष २०७६/७७ बाट उपभोक्ता समितिमार्फत निर्माण अघि बढाइए पनि बजेट अभावमा काम रोकिएको थियो। पछि स्ल्याब बनाउने, रङरोगन गर्ने कार्य धनगढी उपमहानगरपालिकाले गरेको थियो।
इन्जिनियर भट्टका अनुसार उपभोक्ता समितिमार्फत १५ लाख, स्ल्याबलगायतका संरचना निर्माणमा साढे सात लाख र रङरोगनमा अहिले चार लाख रुपियाँ खर्च भइसकेको छ। धनगढीको पहिचान स्थापित गर्ने गरी मौलिक संस्कृति झल्किने स्वागतद्वार, त्यसको वरिपरि बगैँचा बनाउने, बिजुली जडान गर्ने र सात सय मिटर सडकसमेत बनाउने गरी विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार पारिएको थियो। यी सबै कार्यका लागि ३५ करोड रुपियाँको लागत अनुमान तयार गरिएको इन्जिनियर भट्टले बताएका छन् ।


