धनगढी। धनगढी देशकै उत्कृष्ट उपमहानगरपालिकाको अवार्ड पाएको छ। नेपाल नगरपालिका संघले धनगढी उपमहानगरपालिकालाई उत्कृष्ट सहरको उपाधि दिएको छ । नगरपालिका संघको ३०औँ वार्षिकोत्सवको अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहालले धनगढी उपमहानगरपालिकालाई उत्कृष्ट उपमहानगरपालिकाको रुपमा सम्मान गरेका छन्।
बिभिन्न बिधामा गत आर्थिक बर्षमा उत्कृष्ट कार्य गर्ने देशभरीभरीका बिभिन्न महानगर, उपमहानगर र नगरपालीकाहरुलाई नेपाल नगरपालीका संघले आज स्थापना दिवसका अवसरमा सम्मान गरेको थियो । सोही अन्तरगत धनगढी उपमहानगरपालीकालाई पनी उत्कृष्ट उपमहानगरपालीकाको अवार्ड प्रदान गरिएको हो।
धनगढीले संस्थागत विकास, सेवा प्रवाह र वित्तीय सुशासनका क्षेत्रमा उत्कृष्ट काम गरेका कारण उत्कृष्ट नगरपालिका अवार्डका लागि छानिएको नेपाल नगरपालिका संघले जनाएको छ। सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहालले धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमाललाई उत्कृष्ट नगरपालिकाको अवार्ड प्रदान गरेका हुन्। नेपाल नगरपालिका संघ २०५० मा सबै नगरपालिकाको प्रतिनिधि संगठनको रुपमा स्थापना भएको संस्था हो र यसले नगरपालिकाका साझा समस्या र अधिकारको वकालत गर्दै आएको छ।


