बझाङ। हिउँदे वर्षा नभएका कारण बझाङमा गहुँलगायतका हिउँदेबाली सप्रिन सकेको छैन। कतिपय क्षेत्रमा खडेरीका कारण लगाएको बाली राम्रोसँग उम्रिएको छैन भने उम्रिएको हिउँदेबाली पनि सुक्खापनले सुक्न थालेपछि खाद्य संकटको जोखिम बढेको छ । झन्डै ६ महिनादेखि पानी परेको छैन।



जसका कारण गहुँ मात्रै नभएर जौ, मुसुरो, उवा, केराउ, तरकारी जस्ता बालीहरू पनि नसप्रिएको किसानहरूले बताएका छन् । बझाङमा असोजको तेस्रो साता वर्षा भएको थियो । ‘बालीनालीलाई पुग्दो पानी नपरेको र खेतमा लगाइएको बाली खेतमै सुक्न लागेको हो, पानी नपरेकाले छरेको सबै बीउ उम्रिन पाएन,’ सुर्मा गाउँपालिकाका गणेश बोहराले भने, ‘अहिले त उम्रिएको पनि पहेंलो भएर सुक्न थालेको छ ।’ कतिपयले कात्तिकमा गहुँ लगाएको खेतमा केही पनि नउम्रिएपछि फागुनमा खेत जोतेर वर्षेबाली लगाउने तयारी गरिरहेको उनले बताए।
खडेरीका कारण जयपृथ्वी र बुंगल नगरपालिकाको उच्च पहाडी तथा हिमाली भूभाग, साइपाल, तल्कोट, मष्टा, सुर्मा, छबिस पाथीभेरा, दुर्गाथली गाउँपालिका बढी प्रभावित भएको बताइएको छ। हिउँदे वर्षा नभएका कारण यहाँको खेतीबाली केही पनि बाँकी छैन । ‘यो वर्ष हाम्रो पालिकामा ८० प्रतिशतले उत्पादन घट्ने देखिएको छ,’ छबिस पाथीभेरा गाउँपालिकाको कृषि शाखाका प्रमुख दीपक सुनारले भने, ‘तरकारी बालीको उत्पादन त शून्य नै भइसक्यो । अन्नबाली पनि खेतमै सुकेको छ। माथिल्लो भेगमा त भोकमरी हुने निश्चित जस्तै छ ।’ उनले नदी किनारका सिञ्चित क्षेत्रमा बालीनाली ठिकै भए पनि पहाडी र हिमाली क्षेत्रमा खडेरीले ठूलो खाद्य संकटको जोखिम निम्तिने निश्चित भएको बताए । खडेरीका कारण बीउ बराबरको पनि बाली उत्पादन नहुने अवस्थामा पुगेको बित्थडचिरका किसान वीरबहादुर बोहराले बताए । ‘५० किलो गहुँ छरेको थिएँ । समयमा पानी परिदिएको भए सातरआठ क्विन्टल गहुँ फल्थ्यो,’ यो वर्ष बीउजति उब्जनी हुन मुस्किल परेको उल्लेख गर्दै उनले भने।कान्तीपुर



