काठमाडौँ। सरकारले रासायनिक मलमा ११.७८ प्रतिशतले अनुदान कटौती गरेको छ। रासायनिक मलको अन्तर्राष्ट्रिय मूल्य बढ्दै गएको तथा अमेरिकी डलरको तुलनामा नेपाली मुद्राको विनियमदरमा कमी आएकोले मलमा दिँदै आएको अनुदान घटाएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयको जनाएको हो।
मन्त्रालयका अनुसार यस अघि ७०.८२ प्रतिशत अनुदान रहेकोमा अब ५९.०४ प्रतिशत मात्र अनुदान पाउने छन् । यसलाई क्रमशः ५० प्रतिशतमा कायम गरिने मन्त्रालयको भनाई छ । मन्त्रालयका अनुसार अब युरियाको २५ रुपैयाँ, डिएपीको ५० रुपैयाँ, पोटासको ४० रुपैयाँ मूल्य कायम भएको छ। यस अघि युरिया १४, डीएपी ४३ र पोटास ३१ रुपैयाँमा पाइन्थ्यो।
यो रकम खरिद मूल्यको आधारमा युरियामा ८० प्रतिशत, डीएपीमा ५९.०४ र पोटासमा ५८.२ प्रतिशत अनुदान हो । मल आपूर्ति तथा वितरण व्यवस्थापन समितिको सोमबार बसेको बैठकले मध्यान्ह १२ बजेदेखि आयात हुने बिन्दुमा मूल्य बढाउने निर्णय गरेको हो। जसअनुसार साबिकको तुलनाामा करिब ११.८ प्रतिशत मात्र अनुदान मूल्य समायोजन हुन्छ,’ मन्त्रालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘यो दरलाई अर्थ मन्त्रालयको निर्देशनअनुसार त्रमशः ५० प्रतिशतसम्म कायम गरिनेछ।’


