धनगढी। धनगढी उपमहानगरपालिका अघिल्लो आर्थिक वर्षमा उत्कृष्ट काम गरेको भन्दै देशभरमै पहिलो भएको छ। गत आर्थिक वर्ष २०७८र०७९० मा उत्कृष्ट कार्य गरेबापत धनगढी उपमहानगरपालिका पुरस्कृत हुन लागेको हो। देशकै उत्कृष्ट धनगढी उपमहानगरपालिकाका घोषणा भएको छ।
गत आर्थिक वर्षमा धनगढी उपमहानगरपालिकाले संस्थागत विकास, सेवा प्रवाह र वित्तिय सुशासनका क्षेत्रमा राम्रो काम गरेको भन्दै नेपाल नगरपालिका संघले धनगढीलाई उत्कृष्ट नरपालिका पुरस्कार प्रदान गर्न थालेको हो । अघिल्लो आर्थिक वर्षमा आफू मेयर भएकै बेला देशभरमै उत्कृष्ट कार्य गरेको परिणाम अहिले आएर देखिएको निवर्तमान मेयर नृपबहादुर वडले बताए । उनले तत्कालीन जनप्रतिनिधि र कर्मचारीको मिहिनेतका साथै कर्मचारीले सेवा प्रवाहमा गरेको राम्रो कामको मूल्याङ्कन भएकै कारण आज देशभरमै धनगढी उत्कृष्ट बनेको बताए ।
आफ्नो कार्यकालको अन्तिम वर्षमा पनि देशभरमै उत्कृष्ट नगरपालिका बनाउन सफल भएको भन्दै तत्कालीन जनप्रतिनिधि र कर्मचारीलाई उनले धन्यवाद दिएका छन् । गत वैशाख ३० गतेको निर्वाचनमा पुनः मेयर पदमा उम्मेदवार बनेका वडलाई गोपाल हमालले पराजित गरेका थिए । हमालले धनगढी उपमहानगरपालिकाको कार्यभार गत जेठ ९ गतेदेखि सम्हालेका हुन् ।


