धनगढी। सुदूरपश्चिम प्रदेशमा युरोपियन युनियन सहित चार जना राजदूत आईपुगेका छन्। युरोपियन युनियनका राजदूत नोना डिप्रेज सहित युुरोपियन युनियनका सदस्य राष्ट्रहरुका चार जना राजदूतहरुको टोली चार दिने सुदूर पश्चिम भ्रमणका क्रममा आज धनगढी पुगेका हुन् ।
चार जना राजदूतको यो पहिलो सुदूर पश्चिम भ्रमण हो । युरोपियन युनियनका राजदूत नोना डिप्रेजको नेतृत्वमा आएको टोलीमा युुनियनका सदस्य राष्ट्र जर्मनीका राजदूत थोमस प्रिन, फ्रान्सका राजदूत गिल्स बोरबाओ र फिनल्याण्ड राजदूत रिना रिक्का हेईक्का रहेकी छन् ।
सुदूरपश्चिम भ्रमणको पहिलो दिन आज बिहान उनीहरुले सेती प्रादेशिक अस्पतालको अवलोकन गर्नेछन् । धनगढी उपमहानगरपालिकाकी उपप्रमुख कन्दकला रानासंग भेट्ने कार्यक्रम तय भएको छ । धनगढी उपमहानरपालिकाका प्रमुख गोपाल हमाल काठमाण्डौंमा रहेकोले उपमेयरसंग छलफल गर्ने कार्यक्रम तय भएको बताईएको छ ।
चार दिने भ्रमणका क्रममा उनीहरुले युुुरोपियन युनियन तथा युुनियनका सदस्य राष्ट्रहरुको सहयोग तथा साझेदारीमा कैलाली, डोटी र डडेल्धुरामा सञ्चालित परियोजनाहरुको अवलोकन तथा सुदूरपश्चिमको विकासका सम्बन्धमा मुख्यमन्त्री तथा पालिका प्रमुखहरुसंग भेटघाट तथा छलफल गर्ने कार्यक्रम रहेको छ ।
युरोपियन युनियनका राजदूत र भ्रमण टोलीमा रहेका उसका राष्ट्रहरुका राजदूतहरुले बुधवार मुख्यमन्त्री कमल शाह र धनगढी उपमहानगरपालिका प्रमुख गोपाल हमालसंग भेट्घाट तथा छलफल गर्ने कार्यक्रम तय भएको छ ।फिनल्याण्डको सहयोगमा सुदूर पश्चिममा ग्रामिण जलस्रोत व्यवस्थापन परियोजना (आरभीडब्लुआरएमपी) सञ्चालनमा छ । त्यस्तै हलियाको पुनस्र्थापना तथा जीविकोपार्जन र शसक्तिकरणमा समेत फिनल्याण्ड सरकारले सहयोग गर्दै आएको छ । राजदुतहरुको टोलीले जर्मन सरकारका तर्फबाट डडेल्धुरा अस्पताल र सेती प्रादेशिक अस्पतालमा गरिएको सहयोग र त्यसको प्रभावका बारेमा पनि जानकारी लिनेछ । जर्मन सरकारले ग्रेप परियोजना मार्फत सुदूर पश्चिममा सहयोग गर्दै आएको छ । युरोपियन युनियनका राजदूत र उसका सदस्य राष्ट्रहरुका राजदूतहरुले यसअघि गत वर्ष कर्णाली प्रदेशको भ्रमण गरेका थिए ।


