धनगढी। बढ्दो महँगीले उपभोक्तासँगै व्यापारी तथा व्यवसायी प्रभावित बनेका छन् । अर्थतन्त्रको अवस्था सुधार नहुँदा र त्यसैमाथी बढ्दो महँगीका कारण उपभोक्तासँगै व्यापारी तथा व्यवसायी पनि प्रभावित भएका हुन् । आर्थिक अवस्था कमजोर उपभोक्ता महङ्गोमा सामान किन्न सकिरहेका छैनन् भने व्यवसायीलाई बिक्री घट्दा चिन्ता बढेको छ ।
खाद्यान्न, लुगाकपडा लगायत उपभोग्य बस्तुमा महङ्गी बढेको छ । सुदूरपश्चिमका सात पहाडी जिल्लाबाट धनगढीमा उपभोक्ता सामान खरिद गर्न तथा होलसेल सामान किन्न आउने गरेका छन् । तर अगाडीको तुलनामा महङ्गो भएको डोटीका प्रेम राज भण्डारीले बताए । उनले आफु होल सेल सामान खरिद गर्न आएको बताउँदै अब भारतबाट नै खरिद गर्नुपर्ने बताए। किराना व्यवसायी संघ धनगढीका अध्यक्ष लक्ष्मण पन्तले पाँच महिनाको अवधिमा मूल्यवृद्धि पनि निरन्तर उकालोतर्फ रहेको बताए। पाँच महिनाअघि एक हजार दुई सयमा २५ किलोको बोरामा पाइने मोटा चामलको मूल्य अहिले साढे १३ सय, मसिनो (मनसुली चामल) एक हजार ६ सयमा २५ किलोको बोरा पाइँदै आएकोमा अहिले दुई हजार एक सय पुगेको बताए ।
उनका अनुसार पिठोको मूल्य ५० रुपैयाँ प्रतिकिलोबाट बढेर रु ६५, दालहरूको मूल्यमा सरदर २० देखि २५ रुपैयाँ प्रतिकिलो बढेको बताए । प्रतिकिलो पाँच सय रुपैयाँ पर्ने जिराको मूल्य अहिले ८ सय, ८० मा पाइने चिनी अहिले ९० रुपैयाँमा, रातो खुर्सानी ४ सयबाट साढे पाँच सय प्रतिकिलो पुगेको छ । धनियाँ तीन सयबाट बढेर साढे तीन सय भएको छ । चाउचाउलगायत वस्तुको मूल्य बढेको नदेखिए पनि हरेक उत्पादकले पहिलेकै मूल्य कायम गरेर तौल घटाएका बताए । ‘दस रुपैयाँको ९० ग्राम तौलमा आउने बिस्कुटको तौल अहिले ६० ग्राम बनाएको पन्तले बताए ।
पन्तले खाने तेलको मूल्य भने तुलनात्मक केही घटेको बताए । उता ब्यवापारी पनी अर्कोतिर बैंकको चर्को ब्याजले तनाव दिएको धनगढीका डेरी ब्यवसायी सीताराम भट्टले बताए । उनले अहिले व्यापार स्वाट्टै घटेको बताउँदै आर्थिक मन्दीले उपभोक्तालाई समस्या परेको बताए । अर्कोतिर हामी व्यवसायी त झन् दोहोरो चेपुवामा परेको बताए । उद्योग वाणिज्य संघ कैलालीका वरिष्ठ उपाध्यक्ष पुष्कर ओझाले सबै क्षेत्रको व्यापार व्यवसाय चौपट हुन थालेको बताए । व्यापारीहरूले एकातिर बिक्री घटेको र अर्कोतिर उधारोमा गएको रकम पनि उठ्न नसकिरहेकोले पसलहरू बन्द गर्नुपर्ने अवस्था आइरहेको उनले बताए।
बैंक तथा वित्तीय संस्थाले आफूखुसी ब्याजदरमा वृद्धि गरेको भन्दै धनगढीका व्यवसायीले निरन्तर विरोध गर्दै आएका छन् । ब्याजदर वृद्धिको विरोधमा उद्योग वाणिज्य संघ कैलालीको नेतृत्वमा एक साताअघि व्यवसायीहरूले राष्ट्र बैंकमा धर्ना दिनुका साथै बैंक तथा वित्तीय संस्थाहरूलाई पनि दबाबका कार्यक्रमहरू सञ्चालन गरेका थिए । एकातिर आर्थिक मन्दी बढ्दो क्रममा रहेकाले ८ प्रतिशतमा लिएको ऋण १६ प्रतिशतसम्म पुगेपछि थेग्न सकिने अवस्था नभएको ओझाले बताए। ओझाले बारम्बार सरकारको ध्यानाकर्षण गराउँदा पनि सुनुवाइ नभएको उनको भनाई । राष्ट्रपति/उपराष्ट्रपतिको निर्वाचनका कारण विरोधका कार्यक्रमहरू रोकिएको भए पनि सुनुवाइ नभए पुनः सशक्त बनाउने ओझाको भनाइ छ । आर्थिक मन्दी थेग्न नसक्नाले समग्रमा ५० देखि ८० प्रतिशत व्यापार घटिसकेको बताएका छन्।

