महेन्द्रनगर । पछिल्लो राजनीतिक घटनाक्रमलाई लिएर सुदूरपश्चिममा पूर्व जनमुक्ती सेना संगठित हुँदै गएका छन् । शनिवार कैलालीको अत्तरीयामा भेला गर्दे पुर्व जनमुक्ती सेनाले एक भएर अगाडी बढ्न विक्रम सिंह कुँवर (सम्भव) को संयोजकत्वमा पूर्व जनमुक्ति सेना नेपाल सुदूरपश्चिम प्रदेशको तदर्थ समिति गठन गरेको हो ।
समितिको सचिवमा नरेश महरा (अजय) चयन भएका छन । समितिको सदस्यमा लक्ष्मण कुयाल (माइकल) कञ्चनपुर, जयन्ती जैसी जेठारा, गणेश विक डडेल्धुरा, रमेश भण्डारी बैतडी, प्रकाश देउवा डोटी, चक्र रोकाया अछाम, देविजंग बुढा बझाङ, चन्द्र बहादुर सुनार बाजुरा, गणेश धामी दार्चुला, टेकेन्द्र साउँद, हंश प्रसाद न्यौपाने कैलाली, दिपक विसी र मनराज शाही रहेका छन् ।
भेलाले राम बहादुर देवकरको संयोजकत्वमा इतिहास लेखन समिति गठन गरेको छ । उक्त समितिको सदस्यहरुमा गम्बिर थापा, मिन बहादुर घर्ती, लाल बहादुर भाट, तुल्सी शर्मा, दिपक खत्री र असल बुढा रहेका छन् । भेलाले दुर्गा बडुवालको संयोजकत्वमा प्रतिष्ठान र नेप बहादुर थारुको संयोजकत्वमा सल्लाहकार समिति गठन गरेको छ ।समितिले शान्ति प्रक्रिया विपरित कदम चालिए संघर्षमा उत्रिने चेतावनी दिएको छ । पुर्व जनमुक्ती सेना नेपालले स्थायी शान्ति र विकास समृद्धिको लक्ष्य पुरा गर्ने राष्ट्रिय अभियान भन्दा बाहिर गएर शान्ति प्रक्रिया देश र जनताको भावना विपरित कदम चालिए जनमुक्ति सेना नेपाल जुनसुकै संघर्षका कदम चाल्न सक्ने जनाएको हो ।
प्रेस विज्ञप्तीमा पछिल्लो समय शान्ति सम्झौता विपरित कार्य भएको भन्दै त्यसको निराकरण सत्यनिरुपण तथा मेलमिलाप आयोग मार्फत हुनुपर्ने माग गरिएको छ । ‘बाह्र बुदे सहमती, विस्तृत शान्ति सम्झौता, अन्तरिम संबिधान, संक्रमणकालिन न्यायको सिद्धान्त विरुद्ध हाम्रो पार्टीको सर्वोच्च कमाण्डर प्रचण्ड लगायतका नेता, कार्यकर्ता र शुभचिन्तकहरुमाथि युद्धकालिन झुट्टा मुद्दाहरुलाई सत्यनिरुपण तथा मेलमिलाप आयोग मार्फत युद्धकालिन मुद्दाहरुको यथासिघ्र सामाधान गरियोस्’ ज्ञापन पत्रमा भनिएको छ।
‘पूर्व जनमुक्ति सेनालाई राष्ट्रिय सेनाको मान्यता पूर्व वाईसीएल र बहिर्गमित सेनाको उचित व्यवस्थापन, घाइते÷अपाङ्गता भएकाहरुलाई उपचार, राहत र व्यवस्थापन, सहिदहरुलाई राष्ट्रिय सहिद घोषणा, उनीहरुका परिवारको भरणपोषणको उचित व्यवस्थापन बेपत्ताको खोजी र उनीहरुका परिवारलाई क्षतिपुर्ती र व्यवस्थापन गरियोस् ।’सुदूरपश्चिमका पुर्व जनमुक्ती सेनाको भेलामा नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य लाल बहादुर सोडारी (दर्शन) ले प्रेश विज्ञप्ती पढेर सुनाएका थिए । भेलामा प्रदेश भरीका करिब २ सय जना पुर्व जनमुक्ती सेनाको सहभागिता रहेको थियो।