काठमाडौं। उपराष्ट्रपतिको निर्वाचन अन्तर्गत उम्मेदवारको अन्तिम नामावली आज प्रकाशन हुने भएको छ । उम्मेदवारविरुद्ध परेको उजुरीउपर जाँचबुझ गरी आजै उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुने निर्वाचन आयोगले जनाएको छ ।
यसअघि उपराष्ट्रपतिको निर्वाचनका लागि हिजो शनिबार उमेदवारको मनोनयन दर्ता गरिएको थियो । हिजो नै उमेदवारविरुद्ध उजुरी दिने निर्वाचन कार्यतालिका थियो।उपराष्ट्रपति पदमा सत्तारुढ दलहरूकै गठबन्धनबाट तीन जना र एमालेको एक गरी चार जनाको उम्मेदवारी परेको छ । सत्ता गठबन्धनबाट जनता समाजवादी पार्टी नेपालबाट दुई र जनमत पार्टीबाट एक गरी तीन जनाको उम्मेदवारी परेको छ ।
उपराष्ट्रपति पदका उमेदवारसमेत रहेका जसपा संसदीय दलका नेता रामसहायप्रसाद यादवविरुद्ध उजुरी परेको छ। राष्ट्रपति पदमा पुरुष निर्वाचित भइसकेको भन्दै नेकपा एमाले र जनमत पार्टीले यादवको उमेदवारी खारेजको मागसहित उजुरी दिएका हुन् । यादवसँगै जनता समाजवादी पार्टी नेपालबाटै प्रमिला यादवको उम्मेदवारी दर्ता भएको छ । रष्ट्रिय जनमत पार्टीबाट ममता झा र एमालेको तर्फबाट अष्टलक्ष्मी शाक्य उम्मेदवार रहेकी छिन् । उपराष्ट्रपतिको निर्वाचन आगामी चैत ३ मा हुँदैछ ।