काठमाडौँ। उपराष्ट्रपतिका लागि उम्मेदवारी दर्ता गराएका जनता समाजवादी पार्टीका नेता रामसहायप्रसाद यादवको उम्मेदवारी संविधान र कानुनविपरीत रहेको भन्दै नेकपा एमालेले उजुरी दिएको छ।
उपराष्ट्रपति पदका लागि एमालेबाट उम्मेदवारी दिएकी अष्टलक्ष्मी शाक्य (बोहरा)को प्रतिनिधि एवं सांसद महेश बर्तौलाले नयाँ बानेश्वरस्थित निर्वाचन अधिकृतको कार्यालयमा शनिबार उजुरी दर्ता गरेका हुन् । राष्ट्रपतिमा पुरुष निर्वाचित भइसकेकाले उपराष्ट्रपति पनि पुरुष हुन नहुने भन्दै एमालेले जसपाका उम्मेदवार यादवविरुद्ध उजुरी दिएको हो। साथै यादवको उम्मेदवारी कानुनविपरीत रहेको एमालेको दाबी छ।
’राष्ट्रपतिमा खसआर्य पुरुष निर्वाचित भइसकेको अवस्थामा उपराष्ट्रपति पदमा खसआर्य समुदायको पुरुष बाहेकको मात्रै उम्मेदवार हुनसक्छ। त्यसैले सो पदमा पुरुष उम्मेदवार हुन सक्दैन,’ एमालेको उजुरीमा उल्लेख छ, ’राष्ट्रपति र उपराष्ट्रपति दुवै पदमा पुरुष निर्वाचित हुने परिकल्पना संविधानले गरेको होइन।’संविधानको धारा ७० मा राष्ट्रपति र उपराष्ट्रपति फरक लिंग वा समुदायको हुनुपर्ने व्यवस्था छ। संविधानको उक्त धारा बमोजिम फरक समुदायको महिलालाई उपराष्ट्रपति पदमा उम्मेदवार मनोनयन गर्ने व्यवस्था मिलाउन संविधान, कानुन र समावेशीकरणको सिद्धान्तअनुरुप अनिवार्य रहेको उजुरीमा उल्लेख छ।
यद्यपि जसपाबाट उम्मेदवारी दिएका यादवको नाममा शुक्रबार नै प्रश्न उठ्न थालेपछि जसपाबाटै प्रमिला यादवले पनि उपराष्ट्रपतिमा उम्मेदवारी दर्ता गराएकी छन्। ९ दलीय गठबन्धनका शीर्ष नेताहरूले कांग्रेसलाई राष्ट्रपतिमा निर्वाचित गरेर जसपालाई उपराष्ट्रपतिमा सहयोग गर्ने सहमति गरेका थिए। एमालेबाट भने उपराष्ट्रपतिमा शाक्यले उम्मेदवारी दर्ता गराएकी छन्। उपराष्ट्रपति निर्वाचनको तयारीका सन्दर्भमा आइतबार उम्मेदवारको नाम फिर्ता लिने र अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिका छ । त्यस्तै चैत ३ गते उपराष्ट्रपतिको निर्वाचन हुनेछ।