नेपाल राष्ट्रिय शिक्षक संगठन धनगढीको दोस्रो नगर परिषद् बैठक सम्पन्न भएको छ । शनिबार नेकपा एमाले जिल्ला पार्टी कार्यालयको सभाहलमा नगर परिषद्को बैठक सम्पन्न भएको हो । राष्ट्रिय शिक्षक संगठन धनगढी नगर कमिटि अध्यक्ष शान्ति पालको अध्यक्षतामा भएको बैठकको प्रमुख अतिथि शिक्षक संगठनकी केन्द्रीय सदस्य नेत्रा नाथ रहेकी थिइन् । कार्यक्रममा सचिव प्रेम चन्द्र रानाले संगठनको सांगठनिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
बैठकलाई सम्बोधन गर्दै प्रमुख अतिथि समेत रहेकी केन्द्रीय सदस्य नाथले शिक्षक संगठनलाई एकताबद्ध र बलियो बनाउन सबैले आ–आफ्ना तर्फबाट भूमिका खेल्न जोड दिइन् । नगर अध्यक्ष पालले पनि संगठनमा क्रियाशिल शिक्षकहरुलाई जिम्मेवार भएर लागेमा मात्र संगठन मजबुत हुने धारणा राखेकी छन् ।
यसैबीच, राष्ट्रिय शिक्षक संगठनले सेवा निवृत्त, सेवारत तथा सेवा प्रवेश गरेका शिक्षकहरुलाई सम्मान समेत गरेको छ । सेवा निवृत्त शिक्षक समेत रहेका संगठनका पूर्व कैलाली जिल्ला अध्यक्ष डिल्लीराज जोशी, पूर्व केन्द्रीय प्रतिनिधि भागिराम चौधरी, विद्यासागरलाल कर्णलाई सम्मान गरिएको सचिव प्रेम चन्द्र रानाले जानकारी दिए ।
उनकाअनुसार निमावि द्धितियमा बढुवा भएका दशरथ भण्डारी, प्रावि प्रथममा बढुवा भएका राजकुमारी महतो, निमावी शिक्षकमा सिफारिस भएका इन्द्रावती राना, रामप्यारी डगौरा, प्राविमा सिफारिस ओमा पछलंग्या, रेखा कुँवर चन्द्राकुमारी चौहान, सावित्रि चौधरी लगायतका शिक्षकलाई बधाई तथा सम्मान गरिएको हो ।
शिक्षक संगठनको बैठकमा प्रमुख वक्ताका रुपमा नेकपा एमालेका पोलिटब्युरो सदस्य तथा कैलाली इन्चार्ज नारदमुनी राना, शिक्षक संगठनका नेता चक्र तिमिल्सीना, शिक्षक महासंघका कैलाली सचिव मनराज यादव, शिक्षक संगठनका पूर्व अध्यक्ष डिल्लीराज जोशी, नेपाल बुद्धीजीवी परिषद् कैलालीका अध्यक्ष प्रकाश छे्डाल लगायतको उपस्थिती रहेको थियो ।


