कञ्चनपुर। कञ्चनपुर पुनर्वासको आनन्द बजार नजिकै नेपाली भूभागमा कल्भर्ट बनाउने विषयमा विवाद हुँदा स्थानीय गोविन्द गौतम शहिद बने । आज भन्दा ६ वर्ष अगाडी अर्थात् २०७३ फागुन २६ गतेका दिन नेपाली भूभागमा कल्भर्ट बनाउने विषयमा भारतीय सीमा सुरक्षा बल एसएसबीले गोली हानेर नेपाली युवा गौतमको हत्या भएको थियो।
भारतीयहरू आफ्नो भुमि भन्दै बलजवस्थी खोला पारि रहेको सीमा स्तम्भ उखेलेर गायब गरी नजिकै रहेको नेपाली भूभाग कब्जा गर्दै आएका थिए । त्यसबिच भारतीय र नेपालीको द्वन्द्व भइरहेको बेला नेपाली पक्षले आफ्नै भूमिमा कल्भर्ट निर्माण गर्दा भारतीय पक्षले अवरोध गर्दा उक्त घटना भएको हो । त्यसपछि स्थानियले मृतक गौतमलाई शहीद घोषणा गर्नुपर्ने माग र चर्को आन्दोलन पछि नेपाल सरकारले गौतमलाई शहीद घोषणा गर्न माग गरेका थिए ।
त्यसपछि सरकारल मृतकका परिवारलाई राहत स्वरूप १० लाख रुपैयाँ, श्रीमतीलाई जागिर र छोरीहरूलाई निःशुल्क शिक्षाको व्यवस्था गर्ने बताएको थियो ।
त्यति बेला गौतमकै घर पुगेका तत्कालीन गृहमन्त्री विमलेन्द्र निधिले घटनाका बारेमा भारतीय पक्षसँग छलफल गर्ने, दोषीलाई कारबाही र विवादित सीमा क्षेत्रको नक्सांकन गर्ने प्रतिबद्धता जनाएका थिए । तर गौतमको सम्मानमा उनकै परिवारको नाममा रहेको ५ कट्टा जमिनमा अर्ध कदको सालिकसहित सहिद गोविन्द गौतम स्मृति पार्क निर्माण गरिएको छ। तर अहिलेसम्म नेपाल सरकारको प्रतिबद्धता अनुसार ६ वर्षसम्म दोषी भारतीय सुरक्षाकर्मीलाई कारबाही नत भारत सरकारसँग ठोस रूपमा कुरा समेत भएको छैन् ।
पटक–पटक सरकारको नेतृत्व पनि परिवर्तन भएपनी विवादित क्षेत्रमा सीमा नक्सांकनको काम भएको छैन् । अहिलेपनी पुनर्वास, बेलौरी, बेलडाँडी, भीमदत्त र दोधारा चाँदनीका सीमावर्ती क्षेत्रहरूमा बेलाबेला भारतीय पक्षले सीमा अतिक्रमण गरिरहेको छ। पुनर्वास नगरपालिका–९, बीचफाँटास्थित नेपाली भूमिमै रहेको प्याराताल महत्वपूर्ण जलचर र पानीको प्रयाप्त स्रोत रहेपनी भारतीय पक्षले आफ्नो दाबी गर्दै आएको छ । त्यँहा सीमा सुरक्षा बल एसएसबी लगाएर त्यहाँ गरिने पर्यटकीय गतिबिधिलाई रोक्ने प्रयास गरिरहेको स्थानिय बताउँछन् । यस्तै भारतीय एसएसबीको ज्यादतीले स्थानीय पुर्जावाला जमिन जोत्न समेत नपाएको र हुलाकी सडक निर्माणमा भारतीय पक्षले अवरोध गरेको दुखेसो सुनाउने गरेका छन्।
पटक पटक दुबै देशका सीमा सुरक्षा बलका प्रमुखको बैठक बसेर उक्त विवाद समाधान नहुँदासम्म यस्तै समस्या भोगिरहनुपर्ने स्थानियको भनाई छ। सुदूरपश्चिमको सीमा सर्भेका लागि पटक, पटक गठन भएका टोलीले अन्य ठाउँहरूमा सर्भे गरी सीमा स्तम्भ समेत निर्माण भइसक्दा पनि सुरक्षा चुनौती देखाउँदै पुनर्वास र बेलौरीमा भने सीमा स्तम्भ राख्न सकेका छैनन्। जसले गर्दा नेपाली भूमि भारतीय पक्षले कब्जा गर्ने दुष्प्रयास गरिरहेको उनीहरुको भनाई छ। कञ्चनपुर जिल्लाका केही स्थानमा २०५८ देखि २०६३ सालकोबीचमा सीमा रेखांकन (स्ट्रीप नक्सा) तयार गरिएको अन्र्तराष्ट्रिय सीमा सरोकार समूहका संयोजक पल्लबराज भट्टले बताए। स्थापित जंगे पिल्लरहरुलाई साक्षी स्तम्भ र नेपालतर्फ रहेका साक्षी स्तम्भ र सहायक स्तम्भहरुलाई सीमाको मूल पिल्लर स्वीकार गरेर नक्सा तयार गरिएको बताए । यसरी नक्सा तयार गरिदा सीमामा समस्या हुने गरेको र ‘भारतलाई फाइदा हुने गरी बनाइएको स्ट्रीप नक्सा खारेज गर्नुपर्ने उनले बताए। शहीद गोबिन्द गौतमको छैटौँ स्मृति दिवसमा श्रद्धाञ्जली व्यक्त गर्दै उनले सीमा विवादको विषय सुल्झाउन सरकारको ध्यानाकर्षण गराउने कार्य भइरहेको बताए । उनले स्ट्रीप नक्साबाट सृजित समस्या तत्काल समाधान गर्न सरकारसँग जोडदार माग गरेका छन्।


