धनगढी। सुदूरपश्चिम सरकारलाई उपराष्ट्रपतिको निर्वाचन पश्चात विस्तार गर्ने तयारी छ । आगामि चैत्र ५ गतेसम्म राष्ट्रपति तथा उपराष्ट्रिपतिको निर्वाचनकालागि जारी गरिएको आचारसंहिता लागू भएकाले त्यसपश्चात मात्रै मन्त्रिपरिषद् विस्तार गरिने छ।
मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेशमा पुर्ण रुपमा मन्त्रिपरिषद् विस्तार गर्न सकेका छैनन्।मुख्यमन्त्रीबाहेक ६ मन्त्रालय रहेको सुदूरपश्चिममा मुख्यमन्त्री शाहले एकीकृत समाजवादीलाई सुरुमै सत्ता साझेदार बनाइसकेका छन् । आफूसँगै मुख्यमन्त्री शाहले एकीकृत समाजवादीका नरेशकुमार शाहीलाई आर्थिक मामिला र कांग्रेसका प्रकाश देउवालाई भौतिक पूर्वाधार विकास मन्त्री नियुक्त गरिसकेका छन्। राष्ट्रपति तथा उपराष्ट्रिपति निर्वाचनको आचारसंहिता लागू भएपछि मन्त्रिपरिषद् विस्तार रोकिएको छ।
निर्वाचन आयोगले तोकेअनुसार फागुन २५ गते सम्पन्न राष्ट्रपति निर्वाचन र चैत ३ गते हुने उपराष्ट्रपति निर्वाचनलाई लक्षित गरी फागुन १७ देखि चैत ५ गतेसम्म निर्वाचन आचारसंहिता लागू गरेको छ। तर, दलहरुले भने प्रदेश सरकारमा आफ्नो भाग बढाउन आन्तरिक कसरत गरिरहेका छन् । सुदूरपश्चिम सरकारमा कुन दलको आकांक्षा के छ त ? संघीय सरकारमा ८ दलीय गठबन्धन बनेसँग यसको प्रभाव प्रदेश सरकारमा पनि प–यो । सोहि अनुसार अब सुदूरपश्चिम प्रदेशमा सत्तारुढ दलहरु नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नागरिक उन्मुक्ति पार्टी र एकीकृत समाजवादी सरकारमा सहभागि हुनेछन् । सुदूरपश्चिम सरकारमा ७ मन्त्री, ४ राज्यमन्त्रीसहित ११ सदस्य मन्त्रीमण्डल बनाउन सकिने संवैधानिक व्यवस्था छ ।
सुदूरपश्चिममा आलोपालो सरकारको नेतृत्व गर्नेबारे दलहरुबीच मोटामोटी सहमति भएको छ । तर, यसबारे औपचारिक जानकारी भने दलहरुले गराएका छैनन् । अहिले सुदूरपश्चिमको नेतृत्व कांग्रेसले गरिरहेको छ । कांग्रेस नेता कमलबहादुर शाह मुख्यमन्त्री रहेका छन् । शाहलाई विश्वासको मत दिएका माओवादी र नागरिक उन्मुक्ति पार्टीले यहाँ आलोपालो सरकारको नेतृत्व गर्न पाउनु पर्ने दाबी राख्दै आएका छन् ।अहिले नेपाली कांग्रेसले मुख्यमन्त्रीसहित भौतिक पूर्वाधार विकास मन्त्रालय पाइसकेको छ । साथै अब उसले थप एक राज्यमन्त्री मात्रै पाउन सक्ने स्थिति छ। अन्य मन्त्रालयलाई सत्तारूढ दलभित्र भागवण्डा गर्दा दुई–दई मन्त्रालय भागमा पर्ने अवस्था देखिन्छ । यसैगरि, संसदीय समिति सभापतिको जिम्मेवारी कसलाई दिने भन्ने बारे अहिले नै टुङगो लागि सकेको अवस्था छैन ।
यस उपर प्रारम्भिक छलफल मात्रै भइरहेका छन् ।कांग्रेसभित्र राज्यमन्त्रीका लागि कञ्चनपुर २ (ख) बाट निर्वाचित बहादुर थापा, समानुपातिक प्रदेश सभा सदस्य गीताकुमारी चौधरी र बाजुराकी जुनाकुमारी दानीको नाम चर्चामा छ । नेकपा माओवादी केन्द्रभित्र कैलाली ५ (क) बाट निर्वाचित रमेशसिंह धामी, अछाम २ (ख)बाट निर्वाचित अक्कलबहादुर रावलको नाम चर्चामा छ ।माओवादी केन्द्र संसदीय दलको नेतासमेत रहेका प्रदेश इन्चार्ज खगराज भट्टराईलाई भने वेटिङ मुख्यमन्त्रीका रूपमा लिइएको छ । नागरिक उन्मुक्तिले आफ्ना सातै जना प्रदेश सभा सदस्यको व्यवस्थापन हुनेगरी सरकारमा सहभागी गराउने गरि कसरत जारी राखेको छ । दुई मन्त्रालय, दुई राज्यमन्त्री, तीन ससदीय समिति सभापति पाउनु पर्ने दाबी नागरिक उन्मुक्तिको छ ।सत्ता साझेदार दल एकीकृत समाजवादीले अझै एउटा मन्त्री पाउनुपर्ने दाबी गर्दै आएको छ । मुख्यमन्त्री शाहलाई विश्वासको मत दिएका स्वतन्त्र प्रदेश सभा सदस्य डा. तारा जोशीलाई समेत व्यवस्थापन गर्ने तयारी छ । ५३ सदस्य प्रदेश सभामा नेपाली कांग्रेसका १९, माओवादी केन्द्रका सभामुख बाहेक १०, नेकपा एमालेका १०, नागरिक उन्मुक्ति पार्टीका ७, नेकपा एकीकृत समाजवादीका ४, राष्ट्रिय प्रजातन्त्र पार्टीका १/१ जना स्वतन्त्र सांसद रहेका छन्।