काठमाडौं। काठमाडौंबाट भैरहवा उडेको श्री एयरलाइन्सको जहाजको इन्जिनमा आगो लागेको देखिएपछि काठमाडौं नै फर्काएर सुरक्षित अवतरण गराइएको छ। उडान नं. ८२१ को जहाजको इन्जिनमा आगो देखिएपछि धादिङको थाक्रेबाट फर्किएको थियो।
सो जहाज त्रिभुवन विमानस्थलमा केहीबेर अघि सुरक्षित अवतरण गरेको छ। सो जहाजमा रहेका चालक दलका सदस्य र यात्रुहरू सबै सकुशल छन्। जहाज क्याप्टेन भरत सिंह थापाले उडाएका थिए । विमानस्थल स्रोतका अनुसार काठमाडौंबाट उड्नासाथ जहाजको इन्जिनमा आगो देखिएको भनेर चालक दलका सदस्यले टावरलाई जानकारी गराएका थिए। त्यसलगत्तै जहाजलाई काठमाडौं फर्काइएको थियो। यो जहाज अवतरणका लागि अन्य उडान रोकिएको थियो। दमकल, एम्बुलेन्स लगायत आकस्मिक सेवा तयारी अवस्थामा राखिएको थियो।


