काठमाडौँ। निर्वाचन आयोगले राष्ट्रपतिको निर्वाचनका लागि सम्पूर्ण तयारी पूरा भएको जनाएको छ। बानेश्वरस्थित संसद् भवनमा स्थापना भएको राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचन कार्यालयले बिहीबार बिहान १० बजेदेखि ३ बजेसम्म मतदान गर्ने गरी सम्पूर्ण तयारी पूरा गरेको हो।
निर्वाचन अधिकृत महेश शर्मा पौडेलले बिहीबार हुने राष्ट्रपति निर्वाचनका लागि सबै तयारी पूरा भएको जानकारी दिए। उनका अनुसार बिहीबार बिहान १० बजेदेखि ३ बजेसम्म मतदानको कार्यक्रम राखिएको छ। राष्ट्रपतिमा कांग्रेसबाट रामचन्द्र पौडेल र एमालेबाट सुवासचन्द्र नेम्वाङ उम्मेदवार छन्। राष्ट्रपति निर्वाचनका लागि संघीय संसद्का सदस्यहरू र प्रदेशसभाका सदस्यहरू मतदाता हुन्छन्। दलहरूले क्रम भोट हुनसक्ने आशंका गरिरहेका बेला निर्वाचन आयोगले बुथमा मतदाताले मोबाइल फोन लगायत कानुनले निषेध गरेका उपकरणहरू बोकेर जान नपाउने जनाएको छ।
‘सुरक्षाकर्मीले आवश्यक सुरक्षा जाँच गर्छन्, यो गोप्य मतदान हो, बुथमा जाँदा मोबाइल लगायत कानुनले निषेध गरेका कुनै पनि उपकरण लैजान मिल्दैन,’ उनले भने । कार्यालयले संघीय सांसदहरूका लागि एक र प्रदेशसभा सदस्यहरूका लागि अर्को गरी दुई वटा मतदान केन्द्र बनाएको छ। ‘दुई वटा मतदान केन्द्र बनाइएको छ। ती मतदान केन्द्रमा आवश्यक कर्मचारीहरू खटिएर सबै तयारी पूरा भइसकेको छ,’ निर्वाचन अधिकृत पौडेलले भने ।उनले बिहीबार दिउँसो ३ बजेसम्म मतदानपछि मुचुल्का गर्ने र ४ बजेदेखि अन्नपूर्ण स्काई हलमा मतगणना गर्ने गरी तयारी गरिएको छ।