कैलाली। सुदूरपश्चिममा फागुपर्व मनाउँदा नियम उल्लङ्घन गरी सवारी चलाउने ६ सय ९६ सवारीसाधनलाई ट्राफिक प्रहरीले कार्वाही गरेको छ। सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका अनुसार आइबार र सोमबार विभिन्न स्थानमा गरिएको चेकजाँचका क्रममा मादक पदार्थ तथा लागूपदार्थ सेवन गरी सवारी साधन चलाउने उक्त संख्यामा कार्वाहीमा परेका हुन्।
सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले बिहानैदेखि सवारी चेकजाँचमा कडाइ गरिएको ट्राफिक प्रहरीले जनाएको छ। लागूपदार्थ सेवन गरी सवारी चलाउने २४ जना जना चालकलाई नियन्त्रणमा लिइएको छ। उनिहरुबाट २४ हजार जरिवाना संकलन भएको जनाइएको छ। यस्तै ट्राफिक नियमको उल्लंघन गर्ने ६ सय ७२ सवारी साधनलाई कार्वाही गरिएको ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ। उनिहरुबाट ४ लाख ६३ हजार ५ सय राजस्व संकलन गरिएको कार्यालयले जनाएको छ।
यस्तै कञ्चनपुरमा सोमबार मात्रै ८५ सवारी कार्वाहीमा परेका छन्। जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक उमेश चन्दका अनुसार उनिहरुबाट ५५ हजार राजश्व संकलन भएको छ । यस्तै २ मोटर साइकल र एक बस गरि तिन सवारी साधन नियन्त्रणमा लिइएको लिइएको उनले जानकारी दिए। जिल्लाका विभिन्न स्थानमा ट्राफिक प्रहरीले चेक प्वाइन्ट खडा गरी सवारीसाधनको चेकजाँच गरेका थिए। यस पटकको फागुपर्वमा सवारी दुर्घटनामा निकै कमी आएको ट्राफिक प्रहरीले जनाएको छ। ट्राफिक प्रमुख चन्दले छिटपुटबाहेक सोमबार सवारी मानवीय क्षति हुने गरी कुनै दुर्घटना नभएको जानकारी दिए।


