दार्चुला। दार्चुलामा एक चितुवा मृत अवस्थामा फेला परेको छ। दार्चुलाको शैल्यशिखर नगरपालिका –२ स्थित कालिपातली र थामुको सीमा छुट्टाउने घट्टेखोलामा चितुवा मृत अवस्थामा फेला परेको डिभिजन वन कार्यालय गोकुलेश्वरले जनाएको छ।
पाँच फिट तीन इन्च लम्बाई र दुई फिट एक इन्च चौडाइ रहेको चितुवा सोमबार मृत अवस्थामा भेटिएको डिभिजन वन कार्यालय गोकुलेश्वरका प्रमुख दुर्गा अवस्थीले बताए। चितुवाको टाउकोमा गहिरो चोट लागेको उनले बताए ।चितुवा पानी पिउन घट्टेखोलामा आउँदा भिरबाट लडेर मरेको हुन सक्ने अनुमान गरिएको छ । चितुवालाई प्रहरी, सवडिभिजन वन कार्यालयको टोली, जनप्रतिनिधि र स्थानीयको रोहबरमा गोकुलेश्वर अस्थायी प्रहरी पोष्ट नजिक गाडेका हुन् ।