धनगढी। सुदूरपश्चिम विश्वविद्यालयले आगामी चैत ८ गतेदेखि हुन गइरहेको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ । विश्वविद्यालयअन्तर्गत स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिले आज कार्यतालिका सार्वजनिक गर्दै यही फागुन २६ गते संघरसंगठन दर्ता गर्ने अन्तिम समय तोकिएको जनाएको छ।
त्यस्तै, फागुन २८ गते मतदाता सूची प्रकाशित गर्नुका साथै मतदाता सूचीउपर दाबी विरोध गर्ने कार्यतालिकामा उल्लेख छ। समितिले फागुन २९ गते मतदाता सूचीउपर दाबी विरोधको छानबिन गरी अन्तिम नामावली प्रकाशित गर्ने र भोलिपल्ट उम्मेदवारी मनोनयन वितरण (प्रत्यक्ष र समानुपातिक दुवैको लागि) गर्ने बताएको छ । कार्यतालिकाअनुसार चैत १ गते उम्मेदवारको मनोनयन पत्र प्रत्यक्ष र समानुपातिकतर्फको नामावली दर्ता गरी प्रत्यक्ष उम्मेदवारको नामावली प्रकाशित गरिने छ ।
त्यस्तै, चैत २ गते उम्मेदवारको नामावलीउपर दाबी विरोध गर्ने अन्तिम समय तोकिएको छ। साथै, सोही दिन दाबी विरोधमाथि छानबिन गरी उम्मेदवारको नामावली प्रकाशित गरिने छ । केन्द्रीय अनुगमन तथा समन्वय समितिले चैत ३ गते भने उम्मेदवारको नाम फिर्ता लिने समय तोकिएको र अन्तिम नामावली प्रकाशन गर्ने जानकारी गराएको छ। त्यस्तै, मतदान समय भने चैत ८ गते बिहान ८ बजेदखि बेलुका ४ बजेसम्म हुने कार्यतालिकामा उल्लेख छ। मतदानको समय क्याम्पसमा निर्वाचन समितिले तोकेअनुसार हुने बताइएको छ। साथै, प्रचार प्रसार गर्ने समय चैत ४ गतेदेखि ६ गतेसम्म दिनको २ बजेसम्म हुने र त्यसपछि मौन अवधि सुरु हुने समितिले जानकारी गराएको छ।

