कैलाली। कैलालीमा मापदण्ड बिपरित पुनः नदीजन्य पदार्थ उत्खनन हुने गरेको पाइएको छ । कैलालीको गोदावरीमा नदी तथा खोलाबाट जथाभावी गिटी, वालुवा निकाल्दा भू–क्षय र कटानको जोखिम रहेको भन्दै रोक लगाएपनी उत्खनन नरोकिएको पाइएको हो।
स्थानीयले पटक–पटक सरोकारवालाहरुको ध्यानाकर्षण गराएपनी वास्ता नगरेको बताएका छन्। मापदण्डविपरित खोला उत्खन्न हुँदा बस्ति नै जोखिममा परेको स्थानीयले बताएका छन् । यसको रोकथामका लागि नगरपालिकामा पटक पटक जानकारी गराउँदा समेत सुनुवाई नभएको उनीहरुको गुनासो छ। तर यता गोदावरी नगरपालिकाले नदीजन्य पदार्थ नियम मिचेर उत्खनन् वा ढुवानी गरे ५० हजार देखि १ लाख सम्म जरिवाना गर्ने निर्णय गरेको छ ।
गोदावरी नगरपालिकाको ९५ औं कार्यपालिका बैठकले नियम मिचेर नदीजन्य पदार्थ उत्खनन् गरेको पाइए १ लाख सम्म जरिवाना गर्ने निर्णय गरेको हो। नगरपालिकाले सुर्योदय देखि सुर्यास्त सम्म विक्री शुल्क तिरर मात्रै नदीजन्य पदार्थ उत्खनन् गर्न पाउने जनाएको छ। उक्त नियम मिचेर बिना शुल्क तिरेर नदीजन्य पदार्थ बोकेको वा उत्खनन् गरेको पाइए ५० हजार देखि १ लाख जरिवाना हुने नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत प्रयागराज जोशीले बताए। उनले नियम मिच्ने ट्याक्टरलाई ५० हजार, टिप्परलाई ७० हजार र जेस्काइभेटर÷भ्याकुलोडर÷विसिलाई १ लाख जरिवाना तोकिएको बताए।
नगरपालिकाले नियम मिचेर नदीजन्य पदार्थ उत्खनन् गरेको वा ढुवानी गरेको सूचना दिनेलाई २० प्रतिशत प्रोत्साहन रकम दिने जनाएको छ।गोदावरी नगरपालिकाले हाल आफै कर्मचारी राखेर नदीजन्य पदार्थको शुल्क उठाउँदै आएको छ। नगरपालिकाले ठेक्का मार्फत शुल्क उठाउँदै आएकोमा चालु आर्थिक बर्षमा टेण्डर गर्दा पनि ठेकेदार नपाएको भन्दै नगरपालिकाले आफै शुल्क उठाउन थालेको छ।खोला किनारबाट २५/२५ मिटर भित्र गहिराई १ दशमलव २ किलोमिटर जति उत्खनन गर्नुपर्ने प्रावधान रहे पनि ठेक्दारले त्यसको उल्लंघन गर्दै जथाभावी दोहन गरिरहेको स्थानीयको आरोप छ। अनुगमन नहुँदा नगरपालिकाकै मिलोमतोमा नदीको उत्खनन् भैरहेको स्थानियले बताएका छन्।