कैलाली। कैलालीमा कान्द्रा नदिमा डुबेर एक जनाको मृत्यु भएको छ। कैलालीको घोडाघोडी नगरपालिका–११ सिसैया गाउँस्थीत कान्द्रा नदिमा माछा मार्ने क्रममा डुबेर दैलेखको भगवती माई गाउँपालिका ४ का २२ वर्षीय अमर थापाको मृत्यु भएको प्रहरीले जनाएको छ।
इलाका प्रहरी कार्यालय सुखडका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) वीरेन्द्र वीर विश्वकर्माका अनुसार शनिवार हिजो साथीसँग कान्द्रा नदिमा माछा मार्न गएका बेला उनी बेपत्ता भएका थिए। आज प्रहरीलाई खबर भएपछि अत्तरियाबाट गएको गोताखोर टोलीले खोजी गर्दा मृत भेटिएको उनले बताए। सँगै माछा मार्न गएका अन्य ३ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। इलाका प्रहरी कार्यालय सुखडका अनुसार थापाको शवलाई पाष्टमार्टमका लागि टिकापुर अस्पताल पठाइएको बताइएको छ। उनी पहलमानपुर लालबोझी सडक खण्डमा मिक्स्चर चलाउने काम गर्दे आएका थिए। घटनाका सम्बन्धमा थप अनुसन्धान भैरहेको बताइएको छ।