धनगढी। नेकपा एकीकृत समाजवादी पार्टीले आफ्ना प्रदेश सभा सदस्यहरुलाई पक्षमा मतदान गर्न ह्विप जारी गरेको छ। सुदूरपश्चिममा प्रदेश सरकारका मुख्यमन्त्री कमलबहादुर शाहको पक्षमा मतदान गर्न एकीकृत समाजवादीले ह्विप जारी गरेको हो।
नेकपा एकीकृत समाजवादी सुदुरपश्चिमका संसदीय दलका नेता दीर्घ बहादुर सोडारीको अध्यक्षतामा बसेको दलको बैठकले सो निर्णय गरेको हो । प्रदेश सभामा प्रतिनिधित्व गर्ने सबै प्रदेश सभा सदस्यहाई ह्विप जारी गरेको हो। सो पार्टी संग प्रदेश सभामा ४ जना सदस्य प्रदेश सांसद छन्। मुख्यमन्त्री कमलबहादुर शाहले आज विश्वासको मत लिँदै छन्। दिउँसो १ बजे मुख्यमन्त्री शाहले विश्वासको मत लिने गरी प्रदेश सभाको बैठक आह्वान गरिएको छ।अहिलेसम्म बैठक सुरु हुन सकेको छैन।
केहीबेरमा बैठक सुरु हुने र विश्वासको मत लिने कार्यसूची छ। माघ महिनाको २६ गते मुख्यमन्त्रीमा नियुक्त भएका शाहले ३० दिन भित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था अनुसार आज शाहले विश्वासको मत लिँदै छन्। ५३ प्रदेशसभा सदस्य रहेको सुदूरपश्चिममा सरकार बनाउन २७ साँसदको आवश्यकता पर्दछ। कांग्रेसका १९, माओवादीका ११ (सभामुख), नागरिक उन्मुक्तिका ७ र एकीकृत समाजवादीका ४ सहित ४१ सांसद नयाँ गठबन्धनसँग छन्। प्रदेश सभामा नेकपा एमालेका १० (उपसभामुख), राप्रपा र स्वतन्त्र १/१ सांसद छन्।


