धनगढी : नेकपा माओवादी केन्द्र तत्काल सुदूरपश्चिमका मुख्यमन्त्री कमल बहादूर शाहलाई बिश्वासको मत नदिने भएको छ । मुख्यमन्त्री शाहले फागुन २१ गते दिउँसो १ बजे प्रदेशसभाबाट बिश्वासको मत लिने तयारी गरिरहेका बेला माओवादीले तत्काल बिश्वासको मत नदिने अडान राखेको हो । माओवादी केन्द्र सुदूरपश्चिम प्रदेश संसदिय दलको आज बसेको बैठकले यहि अवस्थामा मुख्यमन्त्रीलाई बिश्वासको मत नदिने निर्णय गरेको हो ।
मुख्यमन्त्रीसँगको बैठकपछि माओवादी केन्द्रका प्रदेश सभा सदस्य अक्कल रावलले भने, ‘यथास्थितिमा अझै पनि विश्वासको मत दिने वातावरण बनेको छैन । त्यही कुराको निर्णय हामीले केन्द्रीय कार्यालयमा पठाएका छौं। केन्द्रको निर्णयको पखाइमा छौ ।’ माओवादी केन्द्रले सुदूरपश्चिम सरकारको नेतृत्वसहित प्याकेजमा पावर सेयरिंग हुनुपर्ने माग राख्दै आएको छ ।