काठमाडौंँ। नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले राम्रो गर्न खोज्दा पनि आफ्नो पार्टीमाथि सबैतिरबाट प्रहार भइरहेको बताएका छन्। अध्यक्ष ओलीले राम्रो गर्न खोज्ने एमालेमाथि सबैतिरबाट प्रहार केन्द्रित हुनु मुलुकका लागि दूर्भाग्य भएको बताए।
शनिबार भक्तपुरमा आयोजित एमाले निकट बुद्धिजीवि परिषद्को केन्द्रिय समिति बैठकमा उनले जनतालाई भ्रममा पार्न सफल शक्तिहरूले अहिले पनि सत्ता कब्जा गरिरहेको बताए। अध्यक्ष ओलीले जनतालाई अलमल्याउने, दिग्भ्रमित पार्ने र पथभ्रष्ट बनाउने तत्वबाट जनतालाई मुक्त गराउन बुद्धिजीविहरूले विगुल फुक्न जरुरी रहेको बताए। लेखेर, बोलेर, गोष्ठी, सभा, सम्मेलन गरेर पनि एमाले निकट बुद्धिजीविहरूले जनतालाई भ्रममुक्त बनाउनुपर्ने उनको भनाइ छ।
“सामाजिक परिवर्तन र रुपान्तरणका विरोधी शक्तिहरू, आफ्ना छुद्र स्वार्थमा अल्झिएका शक्तिहरू सत्ता कब्जा गर्न सफल छन्। जनता अल्मल्याउन, चटके कुरा गर्न सफल छन्। जनतालाई भ्रममा पार्न सफल छन्,” उनले भने, “सचेत हुन नदिन, जनताको चेतनालाई रोक्न सफल छन्। तिनको त्यो भ्रमजालबाट जनतालाई मुक्त गर्नु पर्दछ। अहिले बौद्धिक जगतले जनतालाई भ्रमबाट मुक्त पार्ने काम गर्नुपर्छ।” अध्यक्ष ओलीले गलत बाटोमा जान नदिने, सही बाटोमा जान्छु भन्ने बनाउने काम पनि बौद्धिक क्षेत्रको भएको दोहोर्र्याए। उनले जनताको चेतनास्तर माथि उठाउने काममा बुद्धिजीविहरूले ध्यान दिनुपर्नेमा जोड दिए।