धनगढी। कैलालीमा स्कुल बसको ठक्करबाट एक वृद्ध महिलाको मृत्यु भएको छ। कैलालीको गोदावरी –६स्थीत पूर्व-पश्चिम राजमार्ग अन्तरगत खैराना पुल नजिकै स्कुल बसले स्थानिय पैदलयात्री अन्दाजी ६५ वर्षीय बाटुबटे आलेमगरलाई ठक्कर दिएको हो।
आज बिहान पौने ९ बजे से १ क ४४१ नम्बरको माउन्ट साईपाल स्कुल बसको ठक्करबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका डिएसपी कुलदिप चन्दले जानकारी दिए।बसको ठक्करबाट गम्भीर घाइते भएका आलेमगरको उपचारका क्रममा सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको हो। उनको शव परीक्षणका लागि प्रादेशिक अस्पतालमा राखिएको छ।
महिलाको मृत्यु भएपछि स्थानीयले सडक अवरुद्ध पारेको बताउँदै प्रहरी त्यस तर्फ गइरहेको उनले बताए। दोषीलाई कारवाही र मृतकका परिवारलाई क्षतिपूर्तिको माग गर्दै उनीहरुले राजमार्गमा अवरोध सिर्जना गरेपछि सवारीसाधन चल्न सकेका छैनन्। बस चालक धनगढी उपमहानगरपालीका १३ का तुल्सीराम राम चौधरीलाई ईलाका प्रहरी कार्यालय मालाखेतीले नियन्त्रणमा लिएको र घटनाबारे थप अनुसन्धान भईरहेको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ।