धनगढी। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले फागुन २१ गते विश्वासको मत लिन प्रदेशसभालाई पत्र पठाएका छन्। मुख्यमन्त्री शाहले आज प्रदेशसभा सचिवालयलाई आइतबार विश्वासको मत प्रयोजनका लागि आवश्यक व्यवस्थापन गरिदिन आग्रह गर्दै पत्र पठाएकाहुन् ।
आइतबार दिउँसो १ बजे बस्ने प्रदेशसभा बैठकमा मुख्यमन्त्री शाहले विश्वासको मत लिनेगरी व्यवस्थापन भइरहेको सभामुख भीमबहादुर भण्डारीले बताए । मुख्यमन्त्रीले २१ गते विश्वासको मत प्रयोजनका लागि आवश्यक व्यवस्थापन गरिदिन भनेर सचिवालयलाई पत्राचार गरेको र विश्वासको मत लिन तयारी थालिएको समेत भण्डारीले बताए । राष्ट्रपतिको निर्वाचनलाई लिएर केन्द्रमा नयाँ समीकरण बनेर पूरानै गठबन्धन ब्युँतिएपछि शाहले विश्वासको मत लिने तयारी गरेका हुन्।
यसअघि मुख्यमन्त्री बन्दा समर्थन गरेको नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत नदिएपछि २६ माघमा एमालेका राजेन्द्र सिंह रावल नेतृत्वको सरकार ढलेको थियो । त्यसपछि संविधानको धारा १६८ को उपधारा ३ बमोजिम ठूलो दलको संसदीय दलको नेताको हैसियतमा सोही दिन शाहलाई प्रदेश प्रमुख देवराज जोशीले मुख्यमन्त्रीमा नियुक्त गरेका थिए ।मुख्यमन्त्री नियुक्त भएकै भोलिपल्ट शाहले कांग्रेसका प्रकाशबहादुर देउवालाई भौतिक पूर्वाधार विकास मन्त्री र नेकपा(एकीकृत समाजवादी) का नरेश शाहीलाई आर्थिक मामिला मन्त्रीमा नियुक्त गरेका थिए।
यी दुई दलको मात्र समर्थन हुँदा विश्वासको मत नपुग्ने भएपछि उनले अहिलेसम्म प्रक्रिया अघि बढाएका थिएनन्। तर पूरानै गठबन्धन ब्युँतिएपछि शाहले विश्वासको मत लिने तयारी गरेका हुन् । शाहलाई स्वतन्त्र प्रदेशसभा सदस्य डा.ताराप्रसाद जोशीसहित नेकपा माओवादी केन्द्रका सभामुख बाहेकका १०, नागरिक उन्मुक्ति पार्टीका ७ जनाले समेत विश्वासको मत दिने दाबी गरिएको छ । ५३ सदस्यीय सुदूरपश्चिम प्रदेशसभामा २७ जनाको समर्थन भए सरकार जोगिन्छ ।फेरिएको समीकरणअनुसार मुख्यमन्त्री शाहको पक्षमा कांग्रेसका १९, माओवादीका १०, नागरिक उन्मुक्ति पार्टीका ७, नेकपा एकीकृत समाजवादीका ४ र एक जना स्वतन्त्र समेत गरेर ४१ जना देखिएका छन् । सबै मत प्राप्त गरेमा शाहले दुई तिहाइ भन्दा बढि मत पाउनेछन्। नेकपा एमालेका १० र राप्रपाका १ जना सांसद मात्र प्रतिपक्षीमा छन्।