धनगढी : बिभिन्न गुनासो सहित निवेदन परेपछि कैलालीको त्रिनगर ट्राफिक पोस्टका इन्चार्ज प्रहरी नायव निरीक्षक (सई) नरिभान साउँद माथि छानबिन भइरहेको छ । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले साउँदमाथी छानबिन गरिरहेको जनाएको छ ।
बिभिन्न प्रहरी कार्यालय तथा प्रहरी बिद्यालयमा लेखापाल भएर काम गर्दा ब्यापक आर्थिक अपनयमितता गरेको संगै बिना तालिम ट्राफिक इन्चार्ज बनेको निवेदनपछि सई साउँदमाथी प्रदेश प्रहरी कार्यालयले छानबिन गरिरहेको हो । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरिक्षक भरत बहादूर चौधरीले सई साउँद माथी छानबिन भइरहेको बताए । साउँदमाथी बिभिन्न आरोप लागेको छ चौधरीले भने “हामी छानबिन गर्दैछौँ उहाँले गल्ती गरेको पाइए कार्वाही भोग्नुहुन्छ, अहिलेनै भन्न सकिने अवस्था छैन ।”
साउँदलाई धनगढीस्थित दीपेन्द्र प्रहरी स्कुलको एकाउन्टेन्ट हुँदा भवन निर्माणका क्रममा विभिन्न नक्कली बीलहरु पेश गरि भ्रष्टाचार गरेको, त्रिनगर ट्राफिक पोष्टमा बसेर प्रत्येक टेक्टर, अटोलगायतका गाडीहरुमाथि अत्याधिक ज्यादती गरेको आरोप लगाइएको थियो ।
चितवनमा एकाण्टेन्ट हुँदा भ्रष्टाचार गरि कारबाहीमा परेको व्यक्तिलाई ट्राफिकको तालिम नगरि ट्राफिक इन्चार्ज दिइएको र त्यसबारे छानविन गर्नुपर्ने मागसमेत गरिएको थियो । पत्रकार महासंघमा परेको निवेदनमा भन्सारमा सवारी साधनबाट मासिक रुपमा असुली गर्ने गरेको आरोप लगाउँदै सई साउँदका विगतदेखिका क्रियाकलापलाई ध्यानमा राख्दै छानविन गरि बरखास्त गर्न माग गरिएको छ ।
यसैगरि विभिन्न बुँदामा सई साउँदको सर्टिफकेट छानविन गर्नुपर्ने, दीपेन्द्र प्रहरी स्कुलको भवन निर्माण सम्बन्धमा छानविन गर्नुपर्ने, ट्राफिक प्रहरीको तालिम नगरि त्रिनगर ट्राफिकमा जान मिल्ने वा नमिल्नेबारे छानविन गर्नुपर्ने, चितवन काण्डबारे पुनः छानविन गर्नुपर्ने र त्रिनगर ट्राफिकको असुली धन्दाबारे छानविन गर्नुपर्ने माग गरिएको थियो ।