अछाम। नेकपा एमालेका नेता तथा पूर्वउपप्रधानमन्त्री डा.भीम रावल शुक्रबार गृहजिल्ला अछामबाट कार्यक्षेत्रमा फर्किएका छन्। प्रतिनिधिसभाको निर्वाचनमा टिकट नपाएपछि पार्टीका गतिविधिमा नदेखिएका रावल अछाममा कार्यक्षेत्रमा फर्किएका हुन्।
उनी एमाले केन्द्रीय कार्यालयले सञ्चालन गरेको २ महिने ‘मिसन ग्रासरुट’ अभियानअन्तर्गत कार्यक्रममा सहभागी रहेका छन्। आज साँफेबगर नगर कमिटीले आयोजना गरेको नगरस्तरीय अभिमुखीकरण कार्यक्रममा सहभागी हुन रावल साँफेबगर पुगेका थिए। पार्टिका नेता तथा कार्यकर्ताले नाराबाजी गरेर उनको स्वागत गरेका थिए।
एमालेको महाधिवेशनमा अध्यक्ष पदमा पराजित भएपछि उनी पार्टीका कुनै पनि कमिटीमा छैनन्। उनलाई पनि पार्टीले कुनै जिम्मेवारी दिएको छैन। उनी स्वतन्त्र अभिव्यक्ति दिँदै हिँडेका छन्। रावललाई नेकपा एसमा प्रवेशका लागि माधव नेपाल लगायतका नेताहरुले आग्रह गरिरहेका छन्।रावल निर्वाचनको बेला पनि मतदान गर्नमात्र अछाम पुगेका थिए।