धनगढी। सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहलाई बिभिन्न मागसहित ज्ञापन पत्र बुझाइएको छ। सुदूरपश्चिममा भुकम्पीय जोखिमलाई ध्यानमा राखेर सुरक्षाको माग गर्दै सागर ढकालसहितका युवाले शुक्रबार धनगढीस्थित मुख्यमन्त्रीको निवासमै पुगेर ज्ञापन पत्र बुझाएका हुन् ।
डडेल्धुराबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार रहेका ढकालले पश्चिम नेपालमा भुकम्प जाने जोखिम भएका कारण सम्भावित जोखिमलाई ध्यानमा राखेर पूर्व तयारी थाल्न प्रदेश सरकारलाई आग्रह गरेका हुन् ।
यस्तै सुदूरपश्चिमको संस्कार र संस्कृति जोगाउन भूमिका खेल्न, राजनीतिक पहुँच र शक्तिलाई निस्तेज गर्दै विज्ञानलाई आधार मानेर योजना छनोट गर्नुपर्ने, स्कुलहरुमा टाई सर्ट लगाउन भन्दा प्रदेशका रैथाने शैलीका पोशाक लगाउन र अनुसन्धान बजेट पालिकामा बढाउन माग गरिएका छन्। ढकालसहितका युवाले उठाएका मागमा राष्ट्रिय स्वतन्त्र पार्टीले समेत समर्थन गरेका छ । राष्ट्रिय स्वतन्त्र पार्टीका प्रदेश सभापति इन्जिनियर प्रकाश विष्टसहितका नेताहरुले पनि ज्ञापन पत्रमा हस्ताक्षर गरेका छन् ।