धनगढी : धनगढीको हिमसिखर सहकारी संस्थाका कर्मचारीले ग्राहकको पैँसा किर्ते हस्ताक्षर गरेर निकालेको पाइएको छ । धनगढीकी लक्ष्मी कुमारी जेठाराको खातामा रहेको ४५ हजार रकम किर्ते हस्ताक्षर गरेर संस्थाकै कर्मचारीले निकालेको पाइएको हो । संस्थामा कार्यरत कर्मचारी मञ्जु शाहीले सो रकम किर्ते हस्ताक्षर गरेर झिकेको पाइएको छ ।
धनगढी निवासी लक्ष्मी कुमारी जेठारा २०७७ पुस २८ गते हिमशिखर बहुउद्धेश्यीय सहकारीसँग जोडिन पुगिन् । बैंकको भन्दा राम्रो ब्याज पाइने आशामा उनले सहकारीमा १० लाख रुपैयाँ जम्मा पनि गरिन् । त्यसयता उनले सोही वर्ष सहकारीमा ५ लाख रुपैयाँ पनि जम्मा गरिन् । तर, सहकारीमा जम्मा गरेको रकम केही महिना बचत गरेर निकाल्ने गरेको उनले बताइन् ।
‘सहकारीले बैंकको भन्दा धेरै ब्याज दिन्छ भनेरै मैले हिमशिखरमा रकम जम्मा गरेकी हुँ । समय–समयमा बचत गर्थें र केही समयपछि निकाल्ने पनि गर्थें । तर, पछिल्लो एक वर्षदेखि मैले सहकारीमा कुनै पनि कारोबार गरेको थिइन ।’ उनले भनिन् ‘तर, बुधबार सहकारीमा जाँदा मेरो खातामा पैसा थिएन । खातामा पैसा नभएपछि स्टेटमेन्ट निकाल्न खोजेँ तर सहकारीले स्टेटमेन्ट नै दिन मानेन । पछि बल्लबल्ल स्टेटमेन्ट दियो, अनि थाहा भयो खाताबाट ४५ हजार रुपैयाँ निकालिएको रहेछ ।’
नजिकको सम्बन्ध भएकोले आफ्नो चेकबुक किर्ते गरेर सहकारीकी कर्मचारी मञ्जु शाहीले रकम निकालेको पीडितको आरोप छ । ‘सुरुमा त उनले तपाईको खातमा पैसा नै थिएन भनेर जित्न खोजिन्, तर स्टेटमेन्ट देखाएपछि उनले गल्ती गरेको बताइन् ।’ पीडित जेठाराले भनिन्, ‘यतिसम्म कि उनले पहिला कसैले सोध्यो भने पैसा मैले आफैँ निकाले हो भन्न लगाएकी थिइन् । पछि सबै कुरा बाहिर आएपछि किर्ते गरेर निकालेको पैसा फेरी खातामै हालिदिएकी छिन् ।’
यता हिमशिखर सहकारीका प्रबन्धक महेन्द्र शाहीले सहकारीका कर्मचारीबाट बदमासी भएको स्वीकार गरेका छन् । सहकारीबाट किर्ते गरेर ग्राहकको रकम चोरी गरेको थाहा पाएपछि कर्मचारीलाई निलम्बन गरेको शाहीले बताए । ‘कर्मचारीले बदमासी गरेको थाहा पाउने बित्तिकै सञ्चालक समितिको बैठक बसेरै ती कर्मचारीलाई निलम्बन गरेका छौँ । पीडित सदस्यले दिएको उजुरीका आधारमा ३ सदस्यीय छानबिन समिति गठन गरेर अनुसन्धानसमेत अगाडि बढाईसकेका छौँ ।’ उनले भने– ‘संस्थाकै कर्मचारीले यस्तो हर्कत गर्नु दुःखको कुरा हो । हामीले थप छानबिन अघि बढाइसकेका छौँ ।’
शाहीले उक्त प्रकरणमा कर्मचारीले ग्राहकको खाताबाट पैसा चोरेको स्वीकार गर्दै पुनः सोही खातामा डिपोजिट गरिसकेको बताएका छन् । ‘ग्राहकको रकम चोरी गरेको कुरा बाहिर आएपछि पुनः खातामा पैसा जम्मा भएको पाएका छौँ, त्यो पैसा संस्थाकै कर्मचारी मञ्जु शाहीले जम्मा गरेकी हुन् ।’– उनले भने ।