धनगढी। लोक सेवा आयोगहरुको तेस्रो राष्ट्रिय सम्मेलन कैलालीको धनगढीमा सुरु भएको छ। लोक सेवा आयोग केन्द्रीय कार्यालय काठमाडौंको आयोजनामा धनगढीको रुबस होटलमा आयोजित सम्मेलनमा केन्द्रीय कार्यालयका साथै प्रदेश लोक सेवा आयोगका पदाधिकारी र कर्मचारीहरु सहभागी छन्।
सम्मेलन दुई दिनसम्म चल्ने छ। सम्मेलनमा केन्द्र र प्रदेश लोक सेवा आयोगहरुबाट विभिन्न कार्यपत्रहरु प्रस्तुत हुने र नयाँ योजनाबारे छलफल गरेर निचोड निकालिने लोक सेवा आयोगका सूचना अधिकारी देवीप्रसाद सुवेदीले जानकारी दिए। सम्मेलनका उपलब्धि पत्रकार सम्मेलन गरी सार्वजनिक गरिने उनले बताए। यसअघि लोक सेवा आयोगको पहिलो राष्ट्रिय सम्मेलन २०७७ सालमा फागुन २३ र २४ गते काभ्रेको धुलिखेलमा तथा दोस्रो राष्ट्रिय सम्मेलन २०७८ फागुन २३ र २४ गते रुपन्देहीको भैरहवामा आयोजना गरिएको थियो।