काठमाडौं। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले आठ दलीय गठबन्धनभित्र ८ वटा माग अगाडि सारेको छ। नागरिक उन्मुक्ति पार्टी (नाउपा)का संरक्षक रेशम चौधरीले गठबन्धनसामु ८ वटा माग अगाडि सारेका हुन्।
आठ दलीय गठबन्धनबाट राष्ट्रपतिको उम्मेदवार बनेका कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलसहितका नेताहरूसँग नागरिक उन्मुक्तिका संरक्षक रेशम चौधरीले पत्नी रञ्जिता श्रेष्ठलाई उपप्रधान एवं सहरी विकास मन्त्रालय दिनुपर्ने माग गरेको छ। बिहीबार बिहान नाउपाका संरक्षक रेशम चौधरीलाई भेट्न डिल्लीबजार कारागार पुगेका पौडेलसँग रेशम चौधरीले गठबन्धनसामु आफ्ना माग सम्बोधनका लागि पहल गरिदिन आग्रह गरेको स्रोतको भनाइ छ।
पौडेलसँगको भेटमा चौधरीले सुदूरपश्चिम प्रदेशको नाम फेरेर खप्तड–थारुवान प्रदेश राख्नुपर्ने र टीकापुर क्षेत्रलाई समेटेर छुट्टै जिल्ला बनाउनु पर्ने माग राखेको स्रोतले जनाएको छ । ‘हामीले सुदूरपश्चिम प्रदेशको नाम फेरेर खप्तड–थारुवान प्रदेश राख्न र टीकापुर क्षेत्रलाई समेटेर जिल्ला बनाउन माग राखेका छौँ । प्रदेशको नाम सबैको अपनत्व हुने गरी राख्नुपर्छ,’ नागरिक उन्मुक्ति पार्टीका एक सांसदले भने।
पौडेल र चौधरीबीच भएको भेटवार्ताबारे आफूलाई भने कुनै जानकारी नभएको नाउपाकी अध्यक्ष रञ्जिता श्रेष्ठले बताइन् । उनले भनिन्, ‘राष्ट्रपतिको चुनाव नजिकिएकाले त्यही विषयमा केही कुरा भयो होला । धेरै कुरा मलाई थाहा छैन।’नागरिक उन्मुक्ति पार्टीले टीकापुर घटनामा चौधरी निर्दोष रहेको भन्दै जेलबाट रिहाइ गर्न माग गर्दै आएको छ। सुदूरपश्चिम प्रदेशमा नाउपाले मुख्यमन्त्रीको माग पनि अघि सारेको छ। ’हामीले मुख्यमन्त्री पनि मागेका छौँ । गठबन्धनमा मुख्यमन्त्री पनि आलोपालो गर्नुपर्छ।
अहिले मुख्यमन्त्री नपाए बढी मन्त्रालय पाउनुपर्छ। संसदीय समितिको सभापति पनि हामीले माग गरे अनुरुप पाउनुपर्छ,’ ती सांसदले भने । सुदूरपश्चिम प्रदेशमा कांग्रेस, माओवादी र नाउपा डेढ–डेढ वर्ष सरकारको नेतृत्व गर्ने गरी सहमति हुनुपर्ने नाउपाको माग छ । नाउपाले सुदूरपश्चिममा अहिले दुई मन्त्री र एक राज्यमन्त्री मागका साथै दुई संसदीय समितिको सभापति माग गरेको छ। सुदूरपश्चिम प्रदेशको नाम खस–थारु प्रदेश नराख्नु पर्ने रेशमको माग छ। नाम फेर्न गठबन्धनसँग सुदूरपश्चिममा दुई तिहाइ रहेको ती सांसदको भनाइ छ । ती सांसदका अनुसार लुम्बिनीमा दुई मन्त्री र मधेस प्रदेशमा एक मन्त्री नाउपाले दाबी गर्ने छ ।