कञ्चनपुर। कञ्चनपुरको ब्रह्मदेव सबडिभिजन वन कार्यालयअन्तर्गत चुरेको झिलमिला क्षेत्रमा ध्यान केन्द्रका नाममा अवैध संरचना निर्माण गरिएको छ । विपश्यना ध्यान केन्द्रका नाममा चुरे क्षेत्रमा अवैध रूपमा निर्माण गरिएपछि स्थानियको बिरोधपछि अहिले संरचना भत्काउन थालिएको छ ।
पटक पटक स्थानीय तथा सामुदायिक वनको विरोधपछि भौतिक संरचना भत्काउन थालिएको हो । सुदूरपश्चिम विपश्यना ध्यानकेन्द्रका नाममा वन क्षेत्रमा डेढरदुई सय मिटरमा लगाइएको पर्खाल सुदूरपश्चिम प्रदेश सरकारको बजेटमा निर्माण गरिएको हो। गत आर्थिक वर्षमा सुदूरपश्चिम प्रदेश सरकारको २४ लाख र ध्यान केन्द्रको लगानीमा निर्माण गरिएको पर्खाल चुरे क्षेत्रमा सालका रूख फँडानी गरेर भौतिक संरचना निर्माण हुँदा पटक पटक बिरोध हुँदै आएको थियो। तर डिभिजन वन कार्यालय पनि मूकदर्शक बनेको थियो ।
सबडिभिजन वन कार्यालय ब्रह्मदेवअन्तर्गत पर्ने उक्त क्षेत्रमा गत वर्ष नै ध्यान केन्द्र निर्माण गर्न डोजर प्रयोग गरी सडक निर्माण गरेको भन्दै स्थानीयको चर्को विरोध केही समय काम रोकिएको थियो । अहिले चुरे संरक्षण सञ्जाल र स्थानीय सामुदायिक वनको विरोधपछि उक्त संरचना भत्काइएको हो । चुरे संरक्षण सञ्जालका अध्यक्ष रवीन्द्र कुँवरले ध्यानकेन्द्रका नाममा वन अतिक्रमण भइरहेको बताए । ध्यान केन्द्र नै भए पनि डेढ दुई सय मिटरमा पर्खाल आवश्यक नपर्ने बताए ।
ब्रह्मदेवको उत्तरी क्षेत्रमा पर्ने चुरेमा रहेको झिलमिला ताल नजिकैको १५ हेक्टर वनलाई दुई वर्षअघि धार्मिक वन बनाइएको थियो । त्यही बेलादेखि विपश्यना ध्यानकेन्द्रले सडक निर्माण थालेको थियो । सडक निर्माणका क्रममा समेत सालका रूखहरू काटिएको हुन सक्ने स्थानीय बताउँछन् । तर यसबारे डिभिजन वन कार्यालय भने बेखबर बनेको छ । कति रूख काटिए भन्ने विषयमा जानकारी नभएको सबडिभिजन वन कार्यालय ब्रह्मदेवका प्रमुख जीवन भण्डारीले बताए । पर्खाल निर्माणका विषयमा पनि सबडिभिजनले पटकपटक रोक्न खोजेको बताए। तर निर्वाचनको मुखमा धमाधम पर्खाल बनाइएको उनले बताए ।विपश्यना ध्यानकेन्द्रका अध्यक्ष नारद पाण्डेय भने डिभिजन वनकै अनुमतिमा सडक र पर्खाल निर्माण गरिएको बताउँछन् । उनले धार्मिक वनको कार्ययोजनामा समेत सडक र पर्खाल निर्माण गर्ने विषय समावेश गरिएको बताए । धार्मिक वनको कार्ययोजनामै पर्खाल बनाउने विषय भएकोले त्यतिबेला वनले पनि अनुमति दिएको र अहिले भत्काएको बताए ।
डिभिजन वन कार्यालयले भने ध्यानकेन्द्रका नाममा सडक वा पर्खाल बनाउनेबारे कुनै अनुमति नदिएको जनाएको छ। चुनावको मौकामा जबर्जस्ती संरचना बनाइएको सबडिभिजन वन कार्यालयका प्रमुख भण्डारीले बताए । पटक पटक संरचना रोक्न आग्रह गरेपनी सुनुवाई नगरेको उनले बताए। डिभिजन वन कार्यालय कञ्चनपुरका प्रमुख शम्भुराज तिवारीले भौतिक संरचना भत्काउनुका साथै कारबाही प्रक्रिया पनि अघि बढाइने बताए । उनले सबडिभिजनलाई कारबाहीका लागि पत्र पठाएको बताए । तत्काल उक्त क्षेत्रमा भएका गतिविधिको अनुसन्धान गरेर कारबाही गरिने उनले बताए ।डिभिजन वन कार्यालय कञ्चनपुरका प्रमुख शम्भु तिवारीले उक्त भौतिक संरचना निर्माणको ठेक्का नै रद्द भएको पत्र पुगेको बताए। पर्यटन मन्त्रालयको २ करोड ४० लाख र कृष्णपुर नगरपालिकाको १ करोड २८ लाखमा उक्त इको पार्क निर्माणको प्रक्रिया अघि बढेको थियो । निर्माणको ठेक्का नै रद्द भएपछि अवैध संरचना निर्माण भत्काइन थालिएको हो।