धनगढी : अब सुक्लाफाँटा राष्ट्रिय निकुञ्ज भ्रमणका लागी कञ्चनपुरको दक्षीणी क्षेत्र भएर जान पाइने भएको छ । जिल्लाको भिमदत्तनगरपालिका मचगाउँ प्रवेशद्वार भएर मात्रै बिगतमा निकुञ्ज भ्रमण गर्न पाइन्थ्यो तर बुधबारदेखी बेल्डाँडी गाउँपालिका प्रवेशद्वार भएरपनि निकुञ्ज भ्रमण गर्न पाइने भएको हो । राष्ट्रिय निकुञ्ज भ्रमणका लागी दुइवटा प्रवेशद्वार भएपछि अब यहाँको पर्यटन प्रबद्र्धनमा थप टेवा पुग्ने अपेक्षा लिइएको छ । बिषेशगरी धनगढी भएर आउने पर्यटकहरुलाई यो बाटो निकै सहज हुने बताइएको छ ।
कञ्चनपुरको सुक्लाफाँटा राष्ट्रिय निकुञ्ज जंगल सफारीका लागी अब जिल्लाको पश्चिमी क्षेत्रको बाटो भएरपनि जान पाइने भएको छ । जिल्लाको बृल्डाँडी गाउँपालिका प्रवेशद्वारबाटपनि अब जंगल सफारी गर्न पाइने भएको हो । बिषेशगरी धनगढी भएर सुक्लाफाँटा जंगल सफारीका लागी जाने पर्यटकहरुका लागी यो बाटो निकै सजिलो हुने छ । बेल्डाँडी हुँदै मचगाउँ सम्मको ट्रयाक खुलेपछि अब पर्यटकहरुका लागी सजिलो र समयकोपनि बचत हुने छ । बुधबार एक कार्यक्रमका बिच सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादूर शाहले जंगल सफारी गर्दै बेल्डाँडी प्रवेशद्वारको सुभारम्भ गरेका हुन् । जंगल सफारी र सुक्लाफाँटा राष्ट्रिय निकुञ्जका सम्भावना संगै समस्याबारे जानकारी लिएका मुख्यमन्त्री शाहले समस्याको समाधान र सम्भावनाको उजागरमा निजि क्षेत्रसंग सहकार्यका लागी तयार रहेको बताएका छन् ।
शाहले पर्यटन क्षेत्रलाई समृद्धि र विकासको आधार मानेर प्रदेश सरकारले योजना ल्याउने बताएका हुन् । प्रदेश सरकारको तर्फबाट निजी क्षेत्रसँग समेत समन्वय गरी पर्यटन क्षेत्रमा लगानी भित्र्याउन केन्द्रित हुने उनको भनाइ छ । शाहले समग्र सुदूरपश्चिमको विकासका लागि पर्यटन क्षेत्रको संवर्द्धन, प्रवर्धन गर्न आवश्यक रहेको औँल्याए ।
नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल (नाटा) सुदूरपश्चिमको पहल तथा बेल्डाँडी गाउँपालिकाको सहयोगमा खुलेको प्रवेशद्वारले सुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा आउने पर्यटकको संख्या बढ्ने अपेक्षा लिइएको छ । सुदूरपश्चिममा भएका सम्भावनाहरुको उजागर गर्दै पर्यटन प्रबद्र्धनमा नाटा सुदूरपश्चिमले संधै सहकार्य गर्ने बताएको छ । नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल (नाटा) सुदूरपश्चिमका अध्यक्ष पदम बिक्रम सिहंले अब दक्षिणी क्षेत्रबाट समेत निकुञ्ज प्रवेशका लागि सहज हुने बताए ।
बेलडाँडी गाउँपालिकाले तत्कालका लागि चौधर नदीमा काठको पुल निर्माण गरी निकुञ्ज भित्र झन्डै डेढ किलोमिटर लामो ट्र्याक खोलेको छ । चौधर नदीमा पक्की पुल निर्माणका लागि ठेक्का सम्झौता भइसकेको भए पनि निर्माण कम्पनीले काम सुरु भने गरेको छैन । अब यथाशीघ्र नदीमा पुल निर्माणको कामलाई तीव्रता दिन निर्माण कम्पनीलाई ताकेता गरिने बेलडाँडी गाउँपालिका अध्यक्ष हरिशचन्द्र रानाले बताए ।
सुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाघको बासस्थान एशियामै उत्कृष्ट रहेको दावी गरिएको छ । यो निकुन्ज बाह्रसिंगाको लागि प्रसिद्ध छ । सन् २०१४ मा यस निकुन्जमा २,३०१ वटा बाह्रसिंगा गणना गरिएको छ । यो निकुन्ज जंगली हात्तीका लागि पनि उत्तिकै प्रख्यात छ । यहाँ करिब २०–२५ वटा जंगली हात्ती रहेका छन् । सन् २०१७ को गणना अनुसार यस निकुञ्जमा एकसिंङ्गे गैडाको संंख्या १६ वटा रहेको छ भने सन् २०१८ मा गरिएको गणना अनुसार यस निकुन्जमा बाघको संख्या १६ रहेको छ ।
निकुन्जको अधिकतम भाग सालको जंगलले ढाकिएको छ । बाँकी सिसौ र खयरको जंगल र घाँसे मैदान छ । जंगली हात्ती, पाटेबाघ, चितुवा, घोडगधा, बाह्रसिंगा, जरायो, चित्तल, लगुना जस्ता स्तनधारी जनावर यस निकुन्जका प्रमुख वन्यजन्तु हुन् । त्यस्तै रानी ताल तथा अन्य स–साना तालहरूमा मगर गोहीहरू प्रशस्त पाइन्छन् भने रैथाने र बसाई सरी आउने गरी ४२४ भन्दा बढी चराचुरुङ्गीहरू पाइन्छन् । वन्यजन्तु अवलोकनका लागि यो निकुन्ज स्वर्ग मानिन्छ ।
अन्य निकुञ्जको तुलनामा पर्यटनको निकै सम्भावना रहेको सुक्लाफाँटा राष्ट्रिय निकुञ्जको संरक्षण, प्रबद्र्धन तथा प्रचार प्रसार नहुँदा अपेक्षा गरे अनुसार पर्यटक भित्र्याउन सकिएको छैन । शुरक्षित जंगल सफारी, सहज बाटो लगायतका काममा निकुञ्ज प्रशासनले निकै ध्यान दिनुपर्ने देखिन्छ । साथै सरकारी निकायले अपनत्व ग्रहण गरी यसको प्रबद्र्धनमा योगदान दिए पक्कै सुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा देशभरीमै बढी पर्यटक भित्र्याउन सकिन्छ ।









