धनगढी। सुदूरपश्चिम प्रदेशमा बजेट कार्यक्रम कार्यान्वयनमा सुधार गर्न आवश्यक रहेको सरोकारवालाले जोड दिएका छन्। सुदूरपश्चिम प्रदेश सरकारले बिनियोजन गर्ने बजेट तथा योजना कार्यक्रमलाई सुधार गर्न आवश्यक रहेको सरोकारवालाहरुले जोड दिएका हुन्।
आर्थिक मामिला तथा योजना मन्त्रालयले आयोजना गरेको चालू आर्थिक वर्षको बजेट तथा योजना कार्यान्वयन अर्धवार्षिक समीक्षामा बजेट तथा कार्यक्रम कार्यान्वयनको तौरतरिकामा कुनै फरकपन नभएको उनीहरुले बताएका हुन्। जसका कारण आशातीत उपलब्धि र देखीने गरी नतिजा प्राप्त हुन नसकेको सरोकारवालाको भनाई रहेको छ । यस्तै उनीहरुले विनियोजन ऐनको पालना नगर्नु र विनियोजन दक्षता नहुनुले विगतदेखि नै प्रदेश सरकारको पुँजीगत बजेट खर्चमा विफलता देखीएको बताएका छन्। कार्यक्रममा सबै मन्त्रालयसहित प्रदेश सभा सचिवालय र आयोगहरूका आर्थिक वर्ष २०७९/८० को अर्धवार्षिक प्रगति विवरण प्रस्तुत गरिएको थियो ।
समीक्षा अवधिमा प्रदेश सरकारले चालूतर्फ २१ दशमलव २१ र पुँजीगततर्फ १०.९३ प्रतिशत बजेट खर्च गरेको जनाएको छ । यसअघि आर्थिक वर्ष २०७५/७६ देखि २०७८/८९ को यही अवधिमा चालू खर्च क्रमशः ७.८० प्रतिशत, १०.३६, १४.०५ र २०.१९ प्रतिशत थियो । यसैगरी पुँजीगत खर्च क्रमशः १.३४ प्रतिशत, १०.३० प्रतिशत, ११.८५ प्रतिशत र ८.९० प्रतिशत थियो । चालू आवको पहिलो छ महिनामा कुल बजेट खर्च १४.२८ प्रतिशत रहेको मन्त्रालयले जानकारी दिएको छ ।
निराशाजनक यो खर्चको अवस्थालाई आर्थिक मामिला तथा योजनामन्त्री नरेशकुमार शाहीले सीमित स्रोत, साधन, जनशक्तिका बाबजुद पनि प्रयास राम्रो भएको बताए। यसलाई थप प्रगति र राम्रो बनाउनका लागी कर्मचारीहरुले अझ जिम्मेवार भएर काम गर्नपर्ने उनको भनाई छ । प्रदेशमा बजेट र कार्यक्रम कार्यान्वयन प्रगति अझ बढाउन सबैले जिम्मेवार भएर काम गर्न आवश्यक रहेको मन्त्री शाहीको भनाइ छ ।
यस्तै सुदूरपश्चिम प्रदेशका प्रमुख सचिव नारायणप्रसाद शर्मा दुवाडीले तथ्यमा आधारित भएर नीति, कार्यक्रम बनाउन जोड दिए । उनले यसरी कार्यक्रम बनाउन नसक्दा कार्यान्वयनमा समस्या हुने भन्दै विगतमा भएका कमीकमजोरी सुधार गर्न निर्देशन दिएका छन्। साथै उनले कसैको गोजी, खल्तीबाट आएका योजना नसमटेर प्रक्रिया पु–याएका योजना मात्रै समावेश गर्न निर्देशन दिएका हुन्।
दुवाडीले जनताका असीमित चाहना र योजनाको सही छनोटको ‘म्याचिङ’ गराउने काम कर्मचारीहरूको रहेको बताए । कर्मचारीहरूलाई स्वअनुशासित भएर काम गर्न सुझाब दिएका छन् ।