धनगढी। सुदूरपश्चिम यातायातका व्यवसायी संघका पूर्व अध्यक्ष तथा संस्थापक सदस्य हरि प्रसाद पाण्डेयको उपचारका क्रममा काठमाडौँमा निधन भएको छ। आन्द्रामा समस्या देखिएपछि नर्भिक अस्पतालमा उपचाररत ७१ वर्षीय पाण्डेयको आज बिहान निधन भएको हो।
पाण्डेयको निधनले यातायातको क्षेत्रमा अपूरणीय क्षति भएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष विजय स्वारले बताए । उनले सरल स्वभावका पाण्डेयले यातायातको क्षेत्रमा पुर्याउनु भएको योगदान कहिले बिर्सन नसकिने बताए। सुदूरपश्चिम यातायात व्यवसायी सङ्घ पूर्व अध्यक्ष तथा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका सुदूरपश्चिम संयोजक टेकराज जोशीले सुदूरपश्चिम क्षेत्रमा सार्वजनिक यातायातको जग बसाल्ने काममा पाण्डेयको योगदान रहेको बताए।
उनले विषम परिस्थितिमा समेत सम्पूर्ण यातायात ब्यबसायीहरुलाई एकजुट बनाई सार्वजनिक यातायातको क्षेत्रमा उल्लेखनीय योगदान रहेको भन्दै पाण्डेयको निधनले स्तब्ध बनाएको बताए। सुन्दर सुदूरपश्चिम यातायात प्रालिका अध्यक्ष पदमराज सापकोटाले पाण्डेको निधनले प्रालिले अभिभावक गुमाउनु परेको पीडा सदैव रहने बताए ।हाल प्रालिको संरक्षक समेत रहेका पाण्डेयले यातायातको क्षेत्रमा देखाउनु भएको मार्गदर्शन प्रालिले हमेसा पालना गर्ने अध्यक्ष सापकोटाले बताए । अध्यक्ष सापकोटाले पाण्डेयको दाहसंस्कार आजै काठमाडौँ स्थित पशुपतिमा गरिने समेत जानकारी दिए । उनले पाण्डेयको निधनमा आज एक दिन कार्यालय बन्द रहने समेत जानकारी दिए ।