धनगढी। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले दुई तिहाइ सदस्यको विश्वासको मत पाउने दावी गरेका छन्। विश्वासको मत लिने तयारी गरिरहेका भएका मुख्मन्त्री शाहले आफूलाई दुईतिहाइ प्रदेश सभा सदस्यले विश्वासको मत दिने दाबी गरेका हुन्।
केन्द्रमा नेपाली काँग्रेस, माओवादी केन्द्र,नागरिक उन्मुक्ति पार्टी, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी,जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चा गरी आठ दलीय नयाँ गठवन्धन बनेको छ। मुख्यमन्त्री शाहले नागरिक उन्मुक्तीको समेत पछिल्लो पटक बनेको नयाँ गठवन्धनमा सामेल भएपछि दुईतिहाइ मत पाउने विश्वास गरेका हुन्। मुख्मन्त्री शाहले विश्वासको मत लिँदा आफूलाई नेपाली कांग्रेसका १९, नेकपा (माओवादी)केन्द्रका १०, नागरिक उन्मुक्तीका ७, नेकपा एकीकृत समाजवादीका चार र स्वतन्त्रका एक जना प्रदेश सदस्य गरी ४१ जनाले विश्वासको मत आउँने बताए।
५३ सदस्यीय प्रदेश सभामा विश्वासको मतका लागि २७ र दुईतिहाइका लागि ३७ मत आवश्यक पर्छ। मुख्यमन्त्री शाहले आफूलाई फागुन २२ गते भित्रै विश्वासको मत लिने गरेर वातावरण बनाइ दिन शिर्ष नेताहरुसँग आग्रह गरेको जानकारी दिए। उनले विश्वासको मत पाएपछि मन्त्रीमण्डल विस्तार हुने पनि बताएका छन्। अहिले सुदूरपश्चिम सरकारसँग तीन सदस्यीय मन्त्रिपरिषद रहेको छ।