काठमाडौँ। फागुन २५ गते हुने राष्ट्रपति निर्वाचन कार्यतालिका अनुसार आज (मंगलबार) उम्मेदवारले आफ्नो उम्मेदवारी फिर्ता लिन निर्वाचन आयोगले जनाएको छ । आयोगले आजै उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिने जानकारी दिएको छ ।
निर्वाचन कार्यतालिका अनुसार राष्ट्रपतिका लागि फागुन २५ गते बिहान १० बजेदेखि ३ बजेसम्म मतदान हुनेछ । अपराह्न ४ बजेदेखि मतगणना प्रारम्भ हुने र सोही दिन साँझ ७ बजेभित्रमा नतिजा सार्वजनिक गर्ने आयोगको तयारी रहेको छ।
यसअघि शनिबार उम्मेदवारी दर्ता गरिएको थियो। राष्ट्रपति निर्वाचनका लागि नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल र नेकपा एमाले नेता सुवास नेम्वाङले उम्मेदवारी दर्ता गराएका छन्। पौडेललाई ८ दलीय गठबन्धनको तर्फबाट साझा उम्मेदवार हुने भने नेम्वाङ नेकपा एमालेका तर्फबाट राष्ट्रपति उम्मेदवार बनेका हुन्। प्रदेशसभाका सदस्य ५५० र संघीय संसदका ३३२ गरी ८८२ मतदाता छन्।