धनगढी। सुदूरपश्चिम प्रदेशमा सवारी कारबाहीबाट ३ करोड ७७ लाख बढीको राजश्व संकलन गरिएको छ। नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय अत्तरिया, कैलालीले चालु आर्थिक वर्षको माघ मसान्त सम्म ३ करोड ५३ लाख २९ हजार ५ सय रुपैया राजश्व संकलन गरेको छ। फागुनमा २४ लाख १ हजार ५ सय रुपैया राजश्व संकलन गरेको छ।
फागुन १३ गतेसम्मको तथ्यांक अनुसार कार्यालयले कुल ३ करोड ७७ लाख ३१ हजार रुपैया राजश्व संकलन गरेको छ। कार्यालयका प्रमुख प्रहरी उपरिक्षक (एसपी) नेत्रमणी गिरीका अनुसार कार्यालयले चालु आर्थिक वर्षको माघ महिनामा मात्रै ६९ लाख ६८ हजार ५ सय रुपैया राजश्व संकलन गरेको छ। चालु आर्थिक वर्षमा माघमा सबै भन्दा बढी राजश्व संकलन भएको एसपी गिरीले बताए । उनले माघ पछि पुषमा बढी राजश्व संकलन भएको बताए । चालु महिनाको १३ दिनमा मात्रै कार्यालयले २४ लाख १ हजार ५ सय रुपैया राजश्व संकलन गरेको उनले बताए।
उनका अनुसार फागुन १३ गतेसम्म ४ हजार १ सय ३३ सवारी साधनहरु कारबाहीमा परेका छन। कार्यालयको तथ्यांक अनुसार पुषमा कार्यालयले ५३ लाख ५० हजार ५ सय रुपैया राजश्व संकलन गरेको छ । चालु आर्थिक वर्षको श्रावण महिनामा ४८ लाख ४ हजार रुपैया राजश्व संकलन गरेको कार्यालयले भदौमा ५० लाख ५६ हजार रुपैया राजश्व संकलन गरेको थियो। त्यतिमात्रै नभई असोजमा ४४ लाख ५३ हजार ५ सय, कार्तिकमा ४ लाख ४९ हजार र मंसिरमा सबैभन्दा कम ३७ लाख ६८ हजार रुपैया राजश्व संकलन भएको एसपी गिरीले बताए।
उनले चालु आर्थिक वर्षको हालसम्म कार्यालयले ६१ हजार ५ सय ३० सवारी साधनलाई कारबाही गरेको उनले बताए। कारबाहीमा परेका सवारी साधनहरुबाट नै उक्त राजश्व संकलन भएको उनको भनाई छ । माघ महिनामा सबै भन्दा बढी सवारी साधनहरु कारबाहीमा परेको उनले बताए । उनका अनुसार माघमा ११८४१ सवारी साधनहरु कारबाहीमा परेका छन। यसैगरी श्रावण महिनामा ३६४, भदौमा ८८५६, असोजमा ७१७, कार्तिकमा ८४९१, मंसिरमा ६६७९ र पुषमा ९४८२ सवारी साधनलाई कारबाही गरिएको उनले बताए।
कारबाही गरिएका सवारी साधनहरु मध्ये सबैभन्दा बढी स्कुटर तथा मोटसाईकलहरु रहेका छन। चालु आर्थिक वर्षको माघ महिनासम्ममा २५ हजार ५ सय २८ वटा मोटरसाईकल तथा स्कुटरहरु कारबाही गरिएको कार्यालयले जनाएको छ। जसवाफत १ करोड ४८ लाख ७० हजार राजश्व संकलन गरिएको एसपी गिरीले बताए।चालु आर्थिक वर्षको ७ महिनाको अवधीमा नै ट्राफिक कार्यालय सुदूरपश्चिमले साढे ३ करोडको राजश्व संकलन गरिसकेको छ। गत आर्थिक वर्षमा कार्यालयले ५ करोड ४१ लाख ९४ हजार रुपैया राजश्व संकलन गरेको थियो । पछिल्लो ४ वर्षको तथ्यांक हेर्दा कार्यालयले राजश्व संकलनमा वृद्धि गर्दै आएको छ । आर्थिक वर्ष २०७६÷०७७ मा कार्यालयले ५६ हजार १ सय ५३ सवारी साधनलाई कारबाही गर्दै ३ करोड ३१ लाख ९९ हजार ५ सय रुपैया राजश्व संकलन गरेको थियो भने २०७७/०७८ मा ७९ हजार ८९ सवारी साधनलाई कारबाही गर्दै ४ करोड ५७ लाख ६७ हजार रुपैया राजश्व संकलन गरेको छ ।
कार्यालयले आर्थिक वर्ष २०७८/०७९ मा भने ५ करोड भन्दा बढीको राजश्व संकलन गरेको थियो। कार्यालयले ९७ हजार १ सय ७ सवारी साधनलाई कारबाही गरी उक्त आर्थिक वर्षमा ५ करोड ४१ लाख ९४ हजार रुपैया राजश्व संकलन गरेको थियो। चालु आर्थिक वर्षको तथ्यांक हेर्दा कार्यालयले चालु आर्थिक वर्षको अन्त्य सम्ममा सबैभन्दा बढी राजश्व संकलन गर्ने अनुमान गर्न सकिन्छ । एसपी गिरीले सवारी चेकजाँचमा कडाई गरिदाँ राजश्व संकलनमा वृद्धि भैरहेको बताए। उनले नागरिकको सुरक्षा व्यवस्था बलियो बनाउन चेँकजाचमा कडाईका साथै चेकजाँचका क्रममा सचेतना दिइरहेको बताए। चेकजाँचमा कडाई गरिदा दुर्घटनामा कमी आएको छ भने राजश्वमा पनि वृद्धि भैरहेको बताएका छन्।