काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रपति निर्वाचनका लागि बनेको आठ दलीय गठबन्धनको बैठक बोलाएका छन् । बैठक अहिले साँझ ६ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्दैछ।
राष्ट्रपतिको निर्वाचन सन्दर्भमा आठ दलीय गठबन्धन बनेपछि सरकारमा रहेको दल राष्ट्रिय प्रजातन्त्र पार्टीले समर्थन फिर्ता लिएर बाहिरिएको छ भने नेकपा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छैन ।२५ फागुनमा राष्ट्रपतिको निर्वाचन हुँदैछ। प्रधानमन्त्री दाहालले त्यसअघि विश्वासको मत लिने वा त्यसपछि मात्रै लिने भन्ने विषयमा गठबन्धनमा रहेका दलहरुसँग परामर्श गर्न लागेका हुन् ।
खानेपानीमन्त्री एवम् जनमत पार्टीका उपाध्यक्ष अब्दुल खानले प्रधानमन्त्री दाहालले पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा छलफल गर्न बैठक बोलाएको जानकारी दिए। तत्कालको सत्ता गठबन्धनमा भएको सहमति तोडेर राष्ट्रपति निर्वाचनका लागि नयाँ गठबन्धन बनाएका प्रधानमन्त्री दाहालले राप्रपाले समर्थन फिर्ता लिएपछि अब ३० दिनभित्र विश्वासको मत लिनैपर्ने बाध्यतामा छन्। एमालेले राष्ट्रपति निर्वाचनपछि मात्रै सरकार छोड्न सक्ने नेताहरुको भनाइ छ । यस्तोमा राष्ट्रपति निर्वाचन अगावै विश्वासको मत लिने या पछि लिने भन्नेमा प्रधानमन्त्री दाहाल दोधारमा छन् । गठबन्धनले राष्ट्रपतिमा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई अघि सारेको छ भने एमालेले सुवासचन्द्र नेम्वाङलाई उम्मेदवार बनाएको छ ।