अछाम। अछाममा आगलागीमा परेका २ जनालाई हेलिकोप्टर उद्धार गरिएको छ। अछाममा बिहिबार भएको आगलागीमा परेर घाइते भएका २ जनाको हेलिकोप्टर मार्फत उद्दार गरिएको हो। आगलागीबाट गम्भिर घाइते दुबै जनाको सुर्खेतमा उपचार हुन नसकेपछि हेलिकोप्टर मार्फत काठमाण्डौं लगिएको हो।
यही फागुन ११ गते घरमाआगलागीमा अछामको पञ्चदेवल बिनायक नगरपालिका–८ कोसेडीका २१ वर्षे हिमराज रोका मगर र १९ वर्षीय पिरम रोकामगर गम्भीर घाइते भएका थिए। उनीहरुलाई शनिबार नेपाली सेनाको हेलिकोप्टर मार्फत काठमाडौंमा रहेको कीर्तिपुरस्थित बर्न अस्पतालमा पुगाइएको हो। घाइतेमध्ये हिमराजको शरीरको ८० प्रतिशत भाग जलेको छ भने पिरमको ३६ प्रतिशत जलेको जनाइएको छ।
सुर्खेत अस्पताललेसमेत उपचार गर्न नसक्ने र काठमाडौंको कीर्तिपुरस्थित वर्न अस्पतालमा लैजान सिफारिस गरेपछि पीडित परिवारले उद्धारका लागि पहल गरिदिन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसमक्ष अपील गरेका थिए। प्रधानमन्त्री कार्यालयले घटनाको संवेदनशीलतालाई मध्यनजर गर्दै पीडितलाई तत्काल अस्पताल पुर्याउन निर्देशन दिएपछि गृह मन्त्रालयको समन्वयमा नेपाली सेनाको हेलिकोप्टरमार्फत घाइतेलाई काठमाडौं ल्याइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।