काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) का मन्त्रीहरूले प्रधानमन्त्री पुष्पकमल दाहाललाई राजीनामा बुझाएका छन् । शनिबार दिउँसो प्रधानमन्त्री निवास बालुवाटार पुगेर राप्रपाका मन्त्रीहरूले राजीनामा बुझाएका हुन् ।राप्रपाका तर्फबाट सरकारमा सहभागी अध्यक्ष राजेन्द्र लिङ्देनसहितका ४ जना मन्त्री बालुवाटार पुगेर राजीनामा बुझाएका हुन् ।
राष्ट्रपति निर्वाचनमा राजनीतिक समीकरण फेरिएसँगै राप्रपाले सरकारबाट बाहिरिने निर्णय गरेको थियो । शनिबार बिहान बसेको पार्टीको केन्द्रीय कार्यसम्पादन समिति बैठक र संसदीय दलको संयुक्त बैठकले पार्टीका सबै मन्त्रीलाई फिर्ता बोलाउने निर्णय गरेको हो। अध्यक्ष लिङ्देनले उपप्रधान तथा ऊर्जामन्त्री लिएर सरकारमा राप्रपाको नेतृत्व गरेका थिए। त्यस्तै राप्रपाबाट ध्रुवबहादुर प्रधान कानुन तथा संसदीय मामिला, विक्रम पाण्डे सहरी विकास र दीपकबहादुर सिंह ऊर्जाराज्यमन्त्री बनेका थिए।
फागुन २५ गते हुने राष्ट्रपति निर्वाचनका लागि एमाले उपाध्यक्ष सुवास नेम्वाङले उम्मेदवारी दर्ता गरिसकेका छन्। कांग्रेसबाट केहीबेरमा वरिष्ठ नेता रामचन्द्र पौडेलले उम्मेदवारी दर्ता गर्दैछन्। शुक्रबार रातिको नेकपा माओवादी केन्द्रसहितको ८ दलीय बैठकले कांग्रेस उम्मेदवारलाई राष्ट्रपतिमा सहयोग गर्ने सहमति जनाएका थिए। नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी र राष्ट्रिय मोर्चा पार्टीले राष्ट्रपति निर्वाचनमा कांग्रेसलाई समर्थन गर्ने सहमति दिएका छन्।