काठमाडौं। राष्ट्रपतिको प्रस्तावक र समर्थकको टुंगो लगाउन गठबन्धनको बैठक बस्ने भएको छ । आठ दलीय सत्ता गठबन्धनको बैठक आज दिउँसो बस्ने बताइएको छ । राष्ट्रपतिको उम्मेदवारको प्रस्तावक र समर्थक टुंगो लगाउन बैठक बस्न लागेको हो ।
संघीय संसदको लोहत्से हलमा दिउँसो १ बजे बैठक बस्ने तय भएको नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवले जानकारी दिए। नयाँ गठबन्धनले नेपाली कांग्रेसका उम्मेदवारलाई राष्ट्रपतिमा समर्थन गर्ने निर्णय गरेको छ। आज बिहान बसेको नेपाली कांग्रेसको कार्यसम्पादन समितिको बैठकले वरिष्ठ नेत रामचन्द्र पौडेललाई राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको छ।
राष्ट्रपतिको निर्वाचन यही फागुन २५ गते हुँदैछ। राष्ट्रपतिको चुनावसँगै सत्ता गठबन्धन बदलिएको छ। कांग्रेस, माओवादी, एकीकृत समाजवादी, जसपा, लोसपासहित ८ दलको नयाँ समीकरण बनेको छ ।यसअघि सरकारमा रहेको राप्रपा बाहिरिएको छ। एमालेलगायतका दलहरूले भने औपचारिक निर्णय गरेका छैनन् ।