काठमाडौँ। राष्ट्रपति निर्वाचन पेचिलो भइरहेका बेला नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र एमाले उपाध्यक्ष ईश्वर पोखरेलबीच भेटवार्ता भएको छ । राष्ट्रपति निर्वाचनको विषयलाई लिएर राजनीतिक समीकरण फेरबदल हुनसक्ने चर्चाका बीच अध्यक्ष नेपाल र उपाध्यक्ष पोखरेलबीच भेटवार्ता भएको हो।
शुक्रवार दुई नेताबीच पार्टी एकता र राष्ट्रपति निर्वाचनका बारेमा कुराकानी भएको पोखरेल निकट स्रोतले जनाएको छ। एमालेले राष्ट्रपतिमा अध्यक्ष नेपाललाई अघि सार्ने बताए पनि अध्यक्ष नेपाल विश्वस्त हुन सकेका छैनन् । सोही कारण नेपाल कांग्रेस, माओवादी सहितको पुरानो गठबन्धन ब्युँताउने कि एमालेको प्रस्ताव स्वीकार गर्ने भन्ने दोधारमा छन् त्यस क्रममा उनले दुवैतिरको संवाद चलाइरहेका छन्। ‘दुई नेताबीच पछिल्लो राजनीतिक घटनाक्रम पार्टी एकता राष्ट्रपति निर्वाचन लगायतका विषयमा कुराकानी भयो’, स्रोतले भन्यो, ‘खासगरी अध्यक्षले नेकपा ब्युँताउने भए आफु एमालेबाट राष्ट्रपति बन्न तयार भन्ने आशय प्रकट गरेको बुझियो।’
जवाफमा उपाध्यक्ष पोखरेलले अहिले पनि नेकपा नै रहेको भन्दै नेपालको प्रस्तावमा छलफल गर्न सकिने जवाफ दिएका छन्। ‘अहिले पनि नेकपा नै त छ, यसमा छलफल गर्न सकिन्छ तर कांग्रेसलाई फाइदा हुने र कम्युनिस्टलाई घाटा हुने गरी निर्णय नगर्नुस्’, पोखरेलको भनाइ उदृत गर्दै स्रोतले भन्यो। पोखरेल र नेपालबीच एमालेको प्रस्तावमा प्रचण्ड प्रधानमन्त्री भएपछि पटक पटक कुराकानी भइरहेको छ। केही दिन अघिमात्रै एमाले अध्यक्ष ओलीले पनि अध्यक्ष नेपाललाई भेटेर पार्टी एकता गर्न र राष्ट्रपतिको उम्मेदवार बन्न प्रस्ताव गरेका थिए। तर ओलीको प्रस्ताव ठोस नभएको बरु अल्मल्याउने किसिमको भएको भन्दै नेपाल चुनावअघिको गठबन्धन ब्युँताउने प्रयासमा लागेका थिए ।